शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

भोटेकोशी हेली रिसोर्टको कर्जा नतिरेपछि नेपाल बैंकले सुरु गर्‍यो लिलामी प्रक्रिया

मंगलबार, जेठ २७ २०८२
भोटेकोशी हेली रिसोर्टको कर्जा नतिरेपछि नेपाल बैंकले सुरु गर्‍यो लिलामी प्रक्रिया

कोदारी राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी नदी छेउस्थित भोटेकोशी हेली रिसोर्ट एजिएस हस्पिटालिटीको व्यवस्थापनमा विसं २०७८ बाट सञ्चालनमा आएको हो। करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा रहेको छ।

काठमाडौं- नेपालको पुरानो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले चर्चित भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडविरुद्ध लिलामी प्रक्रिया अघि बढाएको छ। व्यापारिक प्रयोजननका लागि लिइएको कर्जा लामो समयदेखि नतिरेको भन्दै भन्दै बैंकले अन्तिम ताकेता जारी गर्दै लिलामी प्रक्रिया थाल्ने ३५ दिने सूचना निकालेको हो।

पटक-पटक ताकेता, सम्पर्क र पत्राचार गर्दासमेत कर्जा नतिरेकाले बैंकले यो अन्तिम ताकेता गरेको हो। म्यादभित्र सम्पर्क गरी सम्पूर्ण रकम चुक्ता नगरे कानूनी कारबाही अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ मा रहेको सो रिसोर्टले कर्जा तिर्न नसकेको अवस्थामा कम्पनी दर्ता विवरणसहित सञ्चालकहरू चिनबहादुर रानाभाट, छिरोड रोपां, सुबास प्रधान र समिर कुमार नेपाललाई समेत दायित्वको दायरामा ल्याइएको छ। बैंकले उनीहरूको नाम कालोसूचीमा पठाउने प्रक्रिया सुरु गरेको समेत जनाएको छ। साथै, ऋणीको चल-अचल सम्पत्तिहरूको खोजी गरी धरौटीमार्फत असुली प्रक्रिया अघि बढाउने समेत सूचनामा उल्लेख गरिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कर्जा नतिर्ने अवस्थामा ऋणी कम्पनीका सञ्चालक, साझेदार, सेयरधनी र जमानतदाताहरूलाई समेत व्यक्तिगतरूपमा जिम्मेवार बनाउने कानूनी प्रावधान छ।

यही आधारमा बैंकले ३५ दिनभित्र पनि कर्जा नतिरेमा त्यसपछिका ९० दिनभित्र जमानतदाताहरूले समेत रकम तिर्नुपर्ने चेतावनी दिएको छ। समयमै भुक्तानी नभएमा उनीहरूलाई समेत कालोसूचीमा समावेश गरिनेछ।

विगत केही वर्षयता विस्तारको तयारीमा रहेको भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेड पर्यटन पूर्वाधारको दृष्टिले अपेक्षाकृत महत्वाकांक्षी परियोजनाका रूपमा चिनिन्छ।

कोदारी राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी नदी छेउस्थित भोटेकोशी हेली रिसोर्ट एजिएस हस्पिटालिटीको व्यवस्थापनमा विसं २०७८ बाट सञ्चालनमा आएको हो। करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा रहेको छ। 


प्रकाशित : मंगलबार, जेठ २७ २०८२११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend