बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विशाल समूहले पनि मोटरसाइकल उत्पादन गर्ने 

दर्ता भयो ४६ करोड लगानीको ग्लोबल अटोमोबाइल्स 

आइतबार, फागुन १ २०७८
विशाल समूहले पनि मोटरसाइकल उत्पादन गर्ने 

काठमाडौं- विशाल समूहले पनि दुईपांग्रे सवारी एसेम्बल गर्ने भएको छ। मोटरसाइकल तथा स्कुटर र तीन पांग्रे सवारी उत्पादन गर्ने यो समूहले ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता गरेको हो। 

नेपालमा सवारी एसेम्बल गर्न भन्दै करिब दुई दर्जन कम्पनीहरू उद्योग विभागमा दर्ता भइसकेका छन्। तर हालसम्म बजाज र टीभीएस बाहेक अन्य कम्पनीले एसेम्बल सुरु गरेका छैनन्। नेपालमा धेरै बिक्री हुने मोटरसाइकल ब्रान्डहरूले धमाधम एसेम्बलका लागि उद्योग दर्ता गर्ने क्रम बढिरहेको छ। 

सरकारले आयातित मोटरसाइकलमा लाग्ने कर बढाउँदै एसेम्बल हुनेमा कर घटाएका कारण मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न दर्ता हुने क्रम बढेको हो। विशाल समूहले वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र ५ हजार तीन पांग्रे अटोरिक्सा उत्पादन गर्नेगरि ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता गरेको हो। 

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ मा स्थापना हुने उक्त उद्योगमा ४६ करोड ४५ लाख ९२ हजार ६ सय १० रुपैयाँ लगानी हुने छ। मध्यम वर्गको यो उद्योगले १ सय ५० जनालाई रोजगारी दिने छ। 

प्रतिस्थापन विधयेकमार्फ १ सय २५ सीसीभन्दा माथिका दुई पांग्रे सवारी साधनमा अन्तःशुल्क १० प्रतिशतले बढाइएको थियो भने नेपालमा नै उत्पादन गर्नेलाई दुई तह छुटको व्यवस्था गरिएको थियो। 

नयाँ व्यवस्थासँगै एसेम्बलका लागि आयात हुने मोटरसाइकल तथा स्कुटरको सीकेडीमा २० प्रतिशत(दुई तह छुट) मात्र अन्तःशुल्क लाग्दै आएको छ। यसअघि सीकेडीमा एक तह छुट अर्थात ३० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो।

सुजुकीका कार तथा मोटरसाइकल र तीन पांग्रे सवारी एसेम्बल गर्न सीजी होल्डिङ अन्तर्गतको सीजी अटोमोटिभ इन्डस्ट्रिज प्रालि दर्ता भएको थियो। यो उद्योग बाराको परवानीपुरमा प्लान्ट रहने छ। सो उद्योगको कुल पुँजी १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ रहेको छ। 

उक्त उद्योगबाट वार्षिक १० हजार दुईपांग्रे, ३ हजार तीनपांग्रे र १० हजार चारपांग्रे सवारी उत्पादनको लक्ष्य रहेको छ। यो उद्योगमा १ सय १३ जनाले रोजगारी पाउने छन्। पूर्ण स्वदेशी लगानी रहेको यो ठूला उद्योग वर्गमा छ। 

विशाल समूहले सुजुकीका मोटरसाइकलका साथै एमजी, रेनो, फक्सवागन, ग्रेटवाल मोटर्स, माज्दा ब्राडका कारको आधिकारिक बिक्रेता रहेको छ। पछिल्लो समय विशाल समूह अटोमोबाइल व्यवसायमा आग्रामक देखिएको छ। 

धमाधम एसेम्बल उद्योग

सरकारले कर बढाएसँगै यामाहाको मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने गएको असोज १७ मा उद्योग दर्ता भएको थियो। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मोटरसाइकल तथा स्कुटर उत्पादनका लागि एमएडब्लू अटो प्रालि कम्पनी दर्ता गरेको थियो। 

एमएडब्लू अटो प्रालिले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रूपैयाँ लगानी गर्ने उल्लेख गरेको थियो। सरकारले चालु आर्थिक वर्षको आर्थिक अध्यादेशको प्रतिस्थापन विधयेकमार्फत एसेम्बल उद्योगलाई भारी छुट दिएपछि मोटरसाइकलका आधिकारिक बिक्रेताहरू दबाबमा परेर एसेम्बल उद्योग दर्ता गरिहेका छन्।  

त्यस्तै कात्तिक ३० गते इ-बोल्ट मोबिलिटी प्रालि नामक उद्योग दर्ता भएको थियो। उक्त उद्योगमा २४ करोड ३० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। इ-बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्यूतीय स्कुटर उत्पादन गर्ने क्षमता राख्नेछ। 

मझौला उद्योगका रुपमा दर्ता भएको इ-बोल्ट मोबिलिटीले १ सय जनालाई रोजगारी दिने जनाएको छ। पछिल्लो पटक विद्युतीय सवारीको प्रयोग तथा आयात बढ्दै गइरहेको छ। त्यसैले विद्युतीय सवारी एसेम्बल गर्ने उद्योग समेत दर्ता भइरहेका छन्। 

अन्य मोटरसाइकल आयाकर्ताहरू पनि नेपालमै एसेम्बल गर्ने उद्योग दर्ताका लागि प्रसिक्रयामा रहेका छन्। आयात गरेर बिक्री गर्दा महँगो पर्ने भएकाले सरकारले दिएको सुविधा उपयोग गर्न नेपालमै एसेम्बल उद्योग दर्ता हुने क्रम बढेको हो। 


प्रकाशित : आइतबार, फागुन १ २०७८१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend