बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

५३.५ मेगावाट क्षमताको म्याग्दी-१ आयोजनाको सुरुङ निर्माण तीव्र गतिमा अघि बढ्दै

आइतबार, जेठ २५ २०८२
५३.५ मेगावाट क्षमताको म्याग्दी-१ आयोजनाको सुरुङ निर्माण तीव्र गतिमा अघि बढ्दै

म्याग्दी जिल्लाको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

बेनी- म्याग्दी जिल्लाको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका-७ भारवाङस्थित आउटलेटतर्फबाट हेडरेस सुरुङ खन्ने कार्य सुरु गरिएको छ।

सुरुङ खन्ने कार्यको उद्घाटन गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न उपकरण तथा जनशक्ति परिचालन गर्न आग्रह गरे। हाल आयोजनामा चार ठाउँबाट सुरुङ निर्माण भइरहेको छ।

यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका-४, खाम्ला तथा छहरीको अडिटतर्फबाट दुईतर्फी सुरुङ निर्माण कार्य अगाडि बढाइएको थियो। आयोजनाका प्रमुख ज्योतिकुमार केसीका अनुसार अडिट तथा आउटलेट खण्ड जोड्ने सुरुङ १ किलोमिटर ८६५ मिटर लामो हुनेछ। कुल ५ किलोमिटर ७ सय मिटर लामो सुरुङ निर्माण गरिनेछ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले खाम्लामा म्याग्दी नदीमा १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ। सन् २०२४ अप्रिल १० (विसं २०८० चैत १९) मा ठेक्का सम्झौता भइ वैशाख २८ देखि कार्यक्षेत्रमा परिचालित सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टर्सले पर्याप्त निर्माण सामग्री, उपकरण तथा जनशक्ति परिचालन गरिसकेको जनाएको छ।

आयोजनाले २०८३ सालको फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। हालसम्म छहरीको १९८.९० मिटर अडिट सुरुङ, बाँधतर्फको ७६.५४ मिटर सुरुङ र अडिटमार्फत १,२७०.६७ मिटर मुख्य सुरुङको निर्माण सम्पन्न भइसकेको छ। बाँधस्थलमा हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकहरूको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने कुल ११ अर्ब २३ करोड २७ लाख रुपैयाँको लगानीमा निर्माणाधीन आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका-७, भारवाङमा हुनेछ।

यहाँबाट १.५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ, जसबाट नेपाल विद्युत् प्राधिकरणले डाडाखेतमा निर्माण गरिरहेको सबस्टेसनमार्फत वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ। रासस


प्रकाशित : आइतबार, जेठ २५ २०८२०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend