काठमाडौं- अग्नि समूहलाई नेपाली व्यावसायिक जगतमा ‘इमानदार व्यवसायी’का रुपमा चित्रण गरिँदै आएको छ। तुलनात्मकरुपमा करका मामिलामा ‘क्लिन’ मानिने यो समूहले गम्भीर कर घोटाला गरेको तथ्य बाहिरिएको छ।
अग्नि समूहअन्तर्गतको अग्नि इनकर्पोरेटेड प्रालिले जग्गा तथा भवन बिक्रीमा सरकारलाई करोडौँ करछली गरेको पाइएको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६० करोड ७४ लाख २७ हजार रूपैयाँमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा रहेको जग्गा तथा भवन बिक्री गरेको थियो। उक्त जग्गा तथा भवन बिक्री गर्दा कम्पनीले आफूलाई कम नाफा भएको देखाएको र सो नाफाबापत सरकारलाई तिर्नुपर्ने आयकर छली गरेको पाइएको हो।
यतिमात्र होइन, अग्नि इनकर्पोरेटेडले सोही जग्गा बिक्री गर्दा मालपोत कार्यालयमा बिक्री गरेको वास्तविक मूल्यभन्दा कम मूल्य देखाएर त्यहाँसमेत करछली गरेको थियो। कम्पनीको आम्दानी कम देखाएर र मालपोतमा बिक्री गरेको भन्दा कम मूल्य देखाएर पास गर्दा अग्नि इनकर्पोरेटेडले सवा ७ करोड रूपैयाँभन्दा बढी करछली गरेको हो।
एउटै समूहभित्र रहेका अग्नि इनकर्पोरेटेड प्रालि र अग्नि लजिस्टिक प्रालिले एक आपसमा जग्गा तथा भवन बिक्री गरी करछली गरेको देखिएको छ। तेस्रो व्यक्ति वा समूहलाई बिक्री गरेको भए अर्कोले कर तिर्नुपर्ने हुँदा यस्तो नदेखिन सक्ने थियो। तर एकै समूहको दुई कम्पनी भएकाले दुवै कर आफैले तिर्नुपर्ने भएकाले अग्नि इनकर्पोरेटेडका क्याविनेट श्रेष्ठलगायतले सरकारलाई झुक्याउँदै आयमा मुनाफा नै नदेखाएका हुन्। साथै उनीहरुले मालपोतमा समेत बिक्री गरेको भन्दा कम मूल्य देखाएर बेइमानी गरेका हुन्।
अग्नि इनकर्पोरेटेड प्रालिले आर्थिक वर्ष २०७९/८० मा काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित स्वयम्भूमा रहेको ६/७ रोपनी जग्गा र त्यसमा बनेको भवनसमेत अग्नि लजिस्टिक प्रालिलाई ६० करोड ७४ लाख २७ हजार रूपैयाँमा बिक्री गरेको थियो। अग्नि लजिस्टिकलाई सो मूल्यमा जग्गा र भवन बिक्री गर्दा अग्नि इनकर्पोरेटेडलाई १५ करोड ८२ लाख रूपैयाँ नाफा भएको देखाइएको थियो। तर अग्नि इनकर्पोरेटेडले उक्त १५ करोड ८२ लाख रूपैयाँलाई करयोग्य आयमा नदेखाइ करछली गरेको देखिएको छ।
अग्नि इनकर्पोरेटेड प्रालि भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राको कार सेगमेन्टको नेपालका लागि आधिकारिक बिक्रेता हो। यो कम्पनीले विगत लामो समयदेखि महिन्द्राका कार तथा एसयूभी र पिकअप सेगमेन्टका सवारीसाधन बिक्री गर्दै आइरहेको छ।
अटोमोबाइल बिक्री गर्ने र महिन्द्राको स्कर्पियो र बोलेरोको राम्रो व्यापार भएकाले यो कम्पनी ठूला करदार्ता कार्यालयअन्तर्गत नै पर्छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा अग्नि इनकर्पोरेटेडले आर्थिक वर्ष २०७९/८० मा भएको कारोबारमा ठूला करदाता कार्यालयअन्तर्गत अटोमोबाइल कारोबार गर्ने कम्पनीले करछली गरेको बारे औँल्याएको थियो।
महालेखाले भनेको छ- ‘ठूला करदाता कार्यालयअन्तर्गत अटोमोबाइलको कारोबार गर्ने एक करदाताले २०७९/८० को वित्तीय विवरणमा जग्गा भवनलगायतको सम्पत्ति ६० करोड ७४ लाख २७ हजार रूपैयाँमा बिक्री गरी १५ करोड ८२ लाख मुनाफा देखाएकोमा आय विवरणमा उक्त रकमलाई करयोग्य आयमा समावेश गरेको देखिएन। अतः उक्त रकमलाई आयमा समावेश गरी सोको २५ प्रतिशत आयकर ३ करोड ७९ लाख २१ हजार रूपैयाँमा ब्याज तथा शुल्कसमेत छानबिन गरी कर निर्धारण गर्नुपर्दछ।’
महालेखाले आयमा मुनाफा नदेखाएको विषयमात्र औँल्याएका छैन। महालेखाले थप व्याख्या गर्दै भनेको छ- ‘भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार ६६ करोड ९२ लाख ६२ लाख रूपैयाँमा जग्गा बिक्री गरेकोमा वित्तीय विवरणमा ३४ करोड ६२ लाख रूपैयाँको जग्गा र १८ करोड ४१ लाख रूपैयाँको भवनसमेत ५३ करोड ३ लाख रूपैयाँको घरजग्गा मात्र बिक्री गरेको देखाएकोले १३ करोड ८९ लाख ६२ हजार रूपैयाँ न्यून आय लेखांकन गरेको छ। उक्त फरक रकमका सम्बन्धमा छानबिन गरी २५ प्रतिशतले हुने ३ करोड ४७ लाख ४१ हजार रूपैयाँ कर निर्धारण गर्नुपर्दछ।’
यसरी अग्नि इनकर्पोरेटेडले जग्गा र भवन बिक्री गर्दा भएको नाफालाई कम देखाएको र मालपोतमा पनि कम रकममा कारोबार खरेको देखाइ न्यून आय लेखांकन गरेको थियो। ६० करोड ७४ लाख २७ हजार रूपैयाँमा बिक्री गरी १५ करोड ८२ लाख मुनाफा देखाएकोमा आय विवरणमा उक्त रकमलाई करयोग्य आयमा नदेखाइ छली भएको ३ करोड ७९ लाख २१ हजार रूपैयाँ आयकरमा ब्याज तथा शुल्कसमेत अनुल गर्न मनिएको छ।
त्यस्तै, ६६ करोड ९२ लाख ६२ लाख रूपैयाँमा जग्गा बिक्री गरेकोमा वित्तीय विवरणमा ३४ करोड ६२ लाख रूपैयाँको जग्गा र १८ करोड ४१ लाख रूपैयाँको भवनसमेत कुल ५३ करोड ३ लाख रूपैयाँको घरजग्गा मात्र बिक्री गरेको देखाइ १३ करोड ८९ लाख ६२ हजार रूपैयाँ न्यून आय लेखांकन कम देखाएकाले यसको २५ प्रतिशतले हुने ३ करोड ४७ लाख ४१ हजार रूपैयाँ कर ठूला करदाता कार्यालयले असुल गर्नुपर्ने छ।
अग्नि इनकर्पोरेटेडले समग्रमा स्वयम्भूमा रहेको ६/७ रोपनी जग्गा र भवन अग्नि लजिस्टिकलाई बिक्री गर्दा कुल ७ करोड २७ लाख ६२ हजार रूपैयाँ करछली गरेको हो। उक्त रकमको ब्याज तथा शुल्कसमेत जोडर असुल गर्न महालेखाले कर कार्यालयलाई भनेको छ। अब ठूला करदाता कार्यालयले अग्नि इनकर्पोरेटेडले छली गरेको कर असुलउपरको कदम चाल्ने छ।