बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गाउँगाउँमा कालोपत्र सडक : स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन

शुक्रबार, जेठ २३ २०८२
गाउँगाउँमा कालोपत्र सडक : स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन

वर्षौंदेखि हिलो र धुलोका बीच आवतजावत गर्न बाध्य स्थानीयवासी अहिले भने सहज र सुरक्षित सडक प्रयोग गर्न पाएका छन्।

तुलसीपुर (दाङ)- तुलसीपुर उपमहानगरपालिका-१२ को लामीडाँडामा अब सडक हिलाम्मे छैन, न त घरभित्रै धुलो पस्ने अवस्था छ। वर्षौंदेखि हिलो र धुलोका बीच आवतजावत गर्न बाध्य स्थानीयवासी अहिले भने सहज र सुरक्षित सडक प्रयोग गर्न पाएका छन्। लामीडाँडाको आठ सय मिटर सडक कालोपत्र भएपछि त्यहाँका बासिन्दाले राहतको महसुस गरेका छन्।

'पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो', स्थानीय नन्दकुमार पुनले भने, 'अहिले त साइकलमै सहजै बजार पुग्न सकिन्छ।'

यसअघि सवारी साधनका कारण उड्ने धुलो सिधै घरभित्र पस्ने, लुगाफाटामा मैलो लाग्ने अवस्था थियो। तर कालोपत्रसँगै ती समस्या अन्त्य भएको स्थानीय देवी थापाको भनाइ छ। 'धुलोले सुकाएका कपडा समेत फोहर हुन्थे, अब त घरै सफा लाग्छ', उनले भने।

त्यस्तै, हरिपौरीमा त झन झन् चुनौतीपूर्ण अवस्था थियो। वर्षातमा कम्मरसम्म हिलो हुने र घरमा नै पानी पसेर डुबानको स्थिति आउने गरेको थियो। तर अहिले नालीसहित कालोपत्र सडक बनेपछि त्यहाँको दैनिकी सहज भएको छ। 'पहिले बाढी आउँदा घरभित्रै पानी पथ्र्यो, अहिले सडक र नालीले सबै व्यवस्थित भएको छ', स्थानीय डिला केसीले बताइन्।

लामीडाँडा र हरिपौरी गरी कुल ११ सय मिटर सडक कालोपत्र गर्न नगरस्तरीय बजेटबाट ८६ लाख रुपैयाँ विनियोजन गरिएको थियो। चालु आर्थिक वर्षमै ती काम सम्पन्न गरिएको वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिए। उनका अनुसार वडामा आवश्यकता र प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गरी काम गरिएको हो।

'सबै क्षेत्रमा सन्तुलन मिलाएर विकास गर्नुपर्छ भन्ने सोचका साथ हामीले गाउँगाउँमा सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम अघि बढाएका छौँ', वडाध्यक्ष चौधरीले भने, 'यसले स्थानीयलाई दैनिक आवागमनमा धेरै सहज बनाएको छ।'

वडामा यस आर्थिक वर्षमा मात्र दर्जनभन्दा बढी सडकको स्तरवृद्धि गरिएको छ। साथै नयाँ ट्रयाक खोल्ने, नाली निर्माण, कल्भर्ट जडान, ग्राभेल गर्ने जस्ता पूर्वाधार निर्माणसमेत गरिएको वडाले जनाएको छ।

स्थानीयका अनुसार यस्ता विकास निर्माणले न केवल दैनिक जीवन सहज बनाएको छ, तर आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend