शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कैलाश मानसरोवरको दूरदर्शन सुरु

बिहीबार , जेठ २२ २०८२
कैलाश मानसरोवरको दूरदर्शन सुरु

वैशाख महिनाको दोस्रो सातादेखि न्यालु, नारा र हिल्ला हुँदै लिमी पुग्ने पदमार्ग खुलेसँगै जेठको पहिलो सातादेखि आन्तरिक पर्यटक लिमीको लाप्चा पुग्न थालेका छन्।

सिमकोट (हुम्ला)- हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित लिमी लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ।

वैशाख महिनाको दोस्रो सातादेखि न्यालु, नारा र हिल्ला हुँदै लिमी पुग्ने पदमार्ग खुलेसँगै जेठको पहिलो सातादेखि आन्तरिक पर्यटक लिमीको लाप्चा पुग्न थालेका छन्।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार, हाल कैलाश मानसरोवर अवलोकनका लागि आन्तरिक पर्यटक मात्र पुग्ने गरेका छन्। उपयुक्त पूर्वाधार र व्यवस्थापनको अभावले गर्दा सम्भावना बोकेको यो गन्तव्य अझै व्यापक प्रचारप्रसारमा आउन सकेको छैन।

कैलाश मानसरोवरको दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्मको समय उपयुक्त मानिन्छ। त्यसपछि हिउँदे मौसममा न्यालु, नारा, हिल्ला र यारी क्षेत्रहरूमा भारी हिमपात हुने भएकाले आवतजावतका मार्ग बन्द हुने गर्छन्। लिमी भ्यालीस्थित वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, बाटो खुलेसँगै अहिले लिमी क्षेत्रमा पर्यटकहरूको चहलपहल बिस्तारै बढ्दै गएको छ। 'लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देख्न सकिन्छ,' उनले भने, 'यो स्थान सिमकोटदेखि करिब १०५ किलोमिटर टाढा पर्छ। सडक स्तरोन्नति भएसँगै यस मार्गबाट हिल्साभन्दा सहज आवतजावत गर्न सकिने सम्भावना छ।'

सदरमुकाम सिमकोटबाट लिमी भ्यालीसम्म सवारी यातायातमार्फत एक दिनको यात्रा लाग्ने गरेको छ भने पैदलमार्गबाट चार दिन लाग्ने गरेको छ। उक्त क्षेत्र भ्रमण गर्न चाहने पर्यटकहरूले खाद्यान्न, टेन्ट, वाटरप्रुफ ज्याकेट, न्यानो लुगा, ट्रेकिङ जुत्ता, लौरो, औषधि र झोलाजस्ता सामग्री अनिवार्य रूपमा साथमा लैजानुपर्ने बताइएको छ।

नेपाली भूभागमै रहेर कैलाश मानसरोवरको दर्शन गर्न सकिने दुर्लभ सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको पर्याप्त प्रचारप्रसार नहुँदा पर्यटकीय चहलपहल अपेक्षाकृत कम देखिएको स्थानीयको भनाइ छ।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend