बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बजेटअघिको एक महिनामा कुन ब्रान्डका कति कार भित्रिए?

बिहीबार , जेठ २२ २०८२
बजेटअघिको एक महिनामा कुन ब्रान्डका कति कार भित्रिए?

बजेटअघिको एक महिनामा प्यासेन्जर कार र विद्युतीय कमर्सियल भ्यान गरी कुल ६ हजार ४ सय वटाभन्दा धेरै सवारीसाधन आयात भएको तथ्यांक छ।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ मा ल्याएको बजेटमा कर बढ्ने व्यापक हल्लाका कारण ठूलै संख्यामा विद्युतीय कार आयात भएको छ। तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबैलाई ‘सरप्राइज’ दिनेगरी विद्युतीय सवारीमा न कर बढाए न त वर्गीकरण परिवर्तन गरे। 

तर बजेटअघि सवारी आयात गर्ने अधिकांश ब्रान्डले कर बढ्ने आँकलन गरेर केही महिनालाई पुग्ने स्टक गाडी मगाए। सोही कारण बजेटअघिको महिनामा विशेषगरी विद्युतीय कार तथा विद्युतीय कमर्सियल सवारीको आयात अन्य महिनाहरुको तुलनामा उल्लेख्य वृद्धि भएको छ। 

एकाधबाहेक नेपालमा आयात हुने सबैजसो ब्रान्डका विद्युतीय सवारी आयात हुँदै आएको छ। यसमा चीनबाट आउने सबैजसो ब्रान्डका विद्युतीय सवारीमात्र आयात हुन्छन्। भारतबाट आउनेमा सुजुकीको ईभी छैन भने महिन्द्राले एक्सयूभी ४०० ईभी उपभोक्ताको रोजाइमा पर्न नसकेपछि यही महिना ३ वटा नयाँ विद्युतीय कार आयात गरेको छ। परीक्षणका लागि ल्याइएको उक्त बीई६ र एक्सईभी९ केही महिनापछिमात्र बिक्रीका लागि उपलब्ध हुनेछ। 

बजेटअघिको एक महिना बैशाख १८ देखि जेठ १४ गतेसम्म अर्थात मे १ देखि २८ तारिखसम्म विद्युतीय कार तथा आईसी इन्जिनयुक्त कार गरी कुल ४ हजार ६ सय ९६ वटा आयात भएको तथ्यांक छ। मे महिनामा विद्युतीय कमर्सियल भ्यान १ हजार ७ सय १७ वटा आयात भएको छ। यसरी हेर्दा बजेटअघिको एक महिनामा प्यासेन्जर कार र विद्युतीय कमर्सियल भ्यान गरी कुल ६ हजार ४ सय वटाभन्दा धेरै सवारीसाधन आयात भएको तथ्यांक छ।

मेमा सबैभन्दा धेरै गाडी एमजीको भित्रिएको छ। यो महिना एमजीका ६ सय ७६ वटा विद्युतीय कार नेपाल भित्रिएको हो। उक्त संख्यामा एमजीको सबैभन्दा धेरै एस फाइभ छ भने १८ वटा विन्डसर र केही संख्यामा कोमेट ईभी छन्। 

एमजीपछि मेमा धेरै गाडी टाटा मोटर्सले भित्र्याएको छ। टाटाले नेपाल भित्र्याएका सबै कार विद्युतीय हुन्। मेमा टाटाका ६ सय ३५ वटा कार भित्रिएका छन्। टाटा मोटर्सको टिगोर एक्सप्रेस टी, टियागो ईभी, पन्च ईभी, नेक्सन केथ्री ईभी र कर्भ ईभी आयात भएको हो। 

मेमा अर्को धेरै भित्रिएको विद्युतीय सवारी हो डोङफेङ नामी। नामी बक्स एउटामात्र मोडलको कार बजेट अघिको एक महिनामा ४ सय ६१ वटा नेपाल भित्रिएको तथ्यांक छ। 

हुन्डाईका कार मेमा ४ सय ३४ वटा भित्रिएका छन्। यो संख्यामा हुन्डाईको क्रेटा र भेन्युको सीकेडीको संख्या जोडिएको छैन। तयारी क्रेटा र भेन्यु आईसी इन्जिन, ग्रान्ड आईटेन र टूसान केही संख्यामा आयात भएपनि धेरैभन्दा धेरै संख्या क्रेटा ईभीको रहेको छ। 

हुन्डाई पछि धेरै संख्यामा आयात हुनेमा महिन्द्रा रहेको छ। मे महिनामा महिन्द्राको ३ सय ६१ वटा कार आयात भएको छ। यसमा विद्युतीय कारको संख्या ३ वटामात्र रहेको छ। 

मेमा बीवाईडीले ३ सय ५० वटा विद्युतीय कार आयात गरेको छ। यो महिना आयात भएको बीवाईडी एटो थ्रीको तथ्यांक भने यहाँ छैन। 

लिपमोटरले मे महिनामा २ सय ६५ वटा विद्युतीय कार आयात गरेको छ। लिपमोटरको बीटेन र टी०थ्री विद्युतीय कार आयात भएको हो। 

चाङगनको दिपल मे महिनामा २ सय ३७ वटा कार आयात भएको छ। दिपलको एस०७, एल०७ लगायत विद्युतीय कार आयात भइरहेको छ। यसमा सबैभन्दा ठूलो संख्या दिपल एस०७ नै रहेको छ। 

केईका विद्युतीय कार मे महिनामा १ सय ६७ वटा आयात भएको छ। केईको एक्सथ्री प्रो, ईक्युट टू र ईक्युट फोर आयात भइरहेको छ। 

बजेटअघिको एक महिनामा आयोन भी १ सय ४४ वटा आयात भएको छ। जीएसीको आयोन वाई र आयोन भी आयात हुँदै आएकोमा यो बजेटअघि आयोन भीमात्र आयात भएको हो। 

मे महिनामा सुजुकीका १ सय ३१ वटा कार आयात भएको छ। सुजुकी सबै कार आईसी इन्जिनयुक्त हुन्। त्यस्तै बजेटअघिको एक महिनामा रिडाराको विद्युतीय डबल क्याव पिकअप १ सय ३२ वटा आयात भएको छ। 

जेएम ईभीको ईभीइजी बजेटअघि १ सय वटा आयात भएको छ। ईभीइजी ट्याक्सीमा बिक्री हुँदै आएको छ। 

प्रटोनको ईमास सेभेन बजेटअघिको एक महिनामा १ सय वटा आयात भएको छ। १ सय ६० किलोवाटको मोटर पावर रहेको प्रोटोनका ईमास सेभेनमात्र आयात भइरहेको छ। 

स्काइवेलका विद्युतीय कार बजेटअघिको एक महिनामा ७७ वटा आयात हुँदा एक्सपेङका ५४ वटा, ओमोडा÷जेइको ५० वटा आयात भएको छ। ओमोडा एसफाइभ र जेइको जेसिक्स आयात भइरहेको छ। 

यसैगरी बजेटअघिको एक महिनामा सिट्रोन ४६ वटा, टोयोटा ४६ वटा, किया ४४ वटा, सेरेस ३४ वटा, चीनमा टाट पल्टिएको डायुन ३० वटा, निसान २८ वटा, जिकर २७ वटा, बीएमडब्लू १९ वटा आयात भएका छन्। 

यसकासाथै भोल्टस् १४ वटा, आईएम मोटर्स १० वटा, ओरा ७ वटा, फोर्ड ५ वटा, स्कोडा ५ वटा, इसुजु ४ वटा, फक्सवागन ४ वटा, म्याक्सस २ वटा, पोर्सा २ वटा, अउडी १, मित्सुबिसी १, सुवारु  १ र विलिङ १ वटा आयात भएको भन्सारको तथ्यांक छ। 

car budget.jpg


प्रकाशित : बिहीबार , जेठ २२ २०८२११:२०
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # budget
  • # evimport
  • # evnepal


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend