जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन्। मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आइतबार जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युुतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।
सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सम्पन्न गर्नसमेत उनले आग्रह गरेका छन्। सुशासन र विकासमा जोड दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभइ रकेटको शैलीमा काम गर्न भनेका छन्।
कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुुली र रामेछापकाे सीमामा पर्ने सुनकोशी नदीको पानी सुरुङमार्फत बागमतीको सहायक मरिन नदीमा खाेलामा खसाल्ने याेजना छ।
जसबाट मधेस प्रदेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारा जिल्लामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइनेछ। साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युत उत्पादनबाट औद्योगिक विकासमा टेवा पुर्याउने याेजना पनि सरकारले बनाएकाे छ।
४९ अर्ब ४२ करोड रुपैयाँ लागतको सो आयोजनाको हेड वक्समा गत वर्षको बाढी-पहिरोबाट क्षति हुँदा केही समय काम प्रभावित भएको थियो।