बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास, १२ अर्ब ७० करोड रूपैयाँ निर्माणमा खर्च हुने

आइतबार, जेठ १८ २०८२
प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास, १२ अर्ब ७० करोड रूपैयाँ निर्माणमा खर्च हुने

निर्माण हुने सडकको चौडाइ साढे पाँचदेखि सात मिटर हुनेछ। सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एक/एक वटा पक्की पुल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ।

जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकांक्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन्।

यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ। तीन वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको सो पक्की सडक निर्माणका लागि कुल १२ अर्ब ७० करोड रूपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले भने, 'स्रोत सुनिश्चित भइ पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ, आजको शिलान्यासपछि सडक निर्माणको कामले तीव्र गति लिन्छ।'

उनका अनुसार यसअघि पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको छ, बाँकी भागको सडक निर्माण तीव्र रूपमा बढाइने छ।

निर्माण हुने सडकको चौडाइ साढे पाँचदेखि सात मिटर हुनेछ। सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एक/एक वटा पक्की पुल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ। साथै, जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्दै पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि र उपायको प्रयोग गरिने भएको छ।

यो योजनाले मधेस प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार-व्यवसाय प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग पुर्‍याउन मन्त्री यादवले बताए। रासस


प्रकाशित : आइतबार, जेठ १८ २०८२१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend