कालिकोट- कर्णाली राजमार्ग राजमार्ग चार दिन बन्द हुने भएको छ। कर्णाली राजमार्गको खुलालु-लालीघाट सडकखण्ड आगामी मंगलबारदेखि चार दिनसम्म मर्मतका लागि बन्द हुने भएको हो।
सवारी आवागमन पूर्णरुपमा बन्द गरेर मर्मतको तयारी गरिएको छ। जसका कारण कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुनेछ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए।
‘यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म यो सडकखण्ड बन्द रहनेछ, कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन्’ उनले भने, ‘त्यस्तै हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिनेछ।’
सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु-लालीघाट सडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ। निर्माण कार्य सहज बनाउन करिडोरको करिब एक किलोमिटर खण्ड चार दिन बन्द गर्नुपरेको हो। उक्त ठाउँ साँघुरो र अप्ठ्यारो छ। रासस