शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सतिघट्टास्थित चिया बगानभित्र ढकमक्क फुलेका ‘सोना गुलाबी’ ले बढायो पर्यटकीय चहलपहल

बिहीबार , जेठ १५ २०८२
सतिघट्टास्थित चिया बगानभित्र ढकमक्क फुलेका ‘सोना गुलाबी’ ले बढायो पर्यटकीय चहलपहल

जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ हजारौँ आन्तरिक पर्यटक आउने गरेका छन्।

झापा- मेचीनगर नगरपालिकाको वडा नं. ७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान पर्यटकीय स्थलमा परिणत भएको छ। पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिण सतिघट्टा चिया बगानको चार बिगाहा क्षेत्रमा रहेको एकसय वटा ‘सोना गुलाबी’ रुख फूलेर राताम्य भएको छ।

हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका फूलले प्राकृतिक वातावरण रोमाञ्चक बनाएको कारण पर्यटकहरुको आगमन बढेको वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन् 'पहिले पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैन थिए,' उनी भन्छन्, 'यसपाली मानिसहरु यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौँ। व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको छ।'

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ले व्यापक चर्चा पाएसँगै केही स्थानीयबासीले आफ्नो ठाउँमा पनि फूल फुलेको भनेर केही तस्बिर सामाजिक सञ्जालमा हालेपछि सतिघट्टाको ‘सोना गुलाबी’ भाइरल भएर टाढा टाढासम्मका पर्यटकलाई लोभ्याउन सफल भएको वडाध्यक्ष ओली बताउँछन्।

जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको र उनीहरु फोटो र भिडियो खिचाएर रमाउने गरेका छन्। मानिसहरुको चहलपहल अचानक सोचेभन्दा ज्यादा बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरु राखिदिएका छन्।

सीमावर्ती क्षेत्र भएकाले यहाँ भारतको पानीटंकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दा समेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन्। घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकहरुको संख्या पनि उल्लेख्य रहेको बगाननजिक घर भएका शिक्षक जीआर धितालले बताए।

'यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठूला रुखका हाँगाभरि गुलाबी रंगका फूलहरु ढकमक्क छन्,' आदर्श माध्यमिक विद्यालयका उनी भन्छन्, 'मनमोहक वातावरण भएकाले मानिसहरु घुमफिरका लागि आएका हुन्। यसलाई दीगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाइ र बस्ने चौतारोहरुको प्रबन्ध स्थानीय सरकारले गरिदिनु पर्छ।'

‘सोना गुलाबी’ फूलेको यो नयाँ पर्यटकीय गन्तव्यस्थल निजी स्वामित्वमा रहेको सतिघट्टा चिया बगानभित्र रहेको कारण पूर्वाधारको दिगो प्रबन्ध गर्न कठिनाइ छ। वडाध्यक्ष ओलीले बगानका सञ्चालकहरुसँग खाली चौर र फूल फुलेको जति लगभग चार/पाँच बिगाहा जग्गालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सल्लाह भइरहेको बताए।

चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देवेन्द्र खरेलले बगानभित्र फुलेका फूलको रुखलाई स्थानीयवासीले ‘सिरिस’ भन्ने गरे तापनि त्यसको खास नेपाली नाम नभएको बताए। उनले यसको वैज्ञानिक नाम दक्षिण एसियाको रैथाने वनस्पति वर्गमा पर्ने ‘कासिया जाभानिका’ रहेको र पश्चिम बंगालमा यसलाई ‘लाली सोनालु’ भन्ने गरेको बताए। खरेलले नै यसको नेपाली नाम ‘सोना गुलाबी’ राखेका हुन्।

गायक विश्वास उप्रेतीले ‘सोना गुलाबी’का फूल फुलेर राताम्य भएको चिया बगानमा पुगेर आफूले आनन्द लिएको र गीतको भिडियो रेकर्ड गराएको बताए। चहलपहल बढेसँगै सो स्थान वरपर खाजा पसलहरु खुलेका छन्।

बदाम, पोलेको मकै, खरबुजा, काक्रा, चाउचाउ, मोमो, चटपटे लगायतका खानेकुरा बिक्री भइरहेका छन्। स्थानीय कमल खनालले हरेक दिन सयौँ संख्यामा चारचक्के सवारीसाधन र मोटरसाइकल लिएर पर्यटकहरु यहाँ आउने गरेको बताए।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend