बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आज गणतन्त्र दिवस : लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था

बिहीबार , जेठ १५ २०८२
आज गणतन्त्र दिवस : लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था

विसं २०६५ जेठ १५ गते ऐतिहासिक संविधानसभा बैठकमार्फत २४० वर्षे राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको सम्झनामा गणतन्त्र दिवस मनाइन्छ।

काठमाडौं- नेपालले गणतन्त्रको अभ्यास सुरु गरेको १८ वर्ष पूरा भएको अवसरमा आज मुलुकभर १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमसहित हर्षोल्लासपूर्वक मनाइँदैछ। विसं २०६५ जेठ १५ गते ऐतिहासिक संविधानसभा बैठकमार्फत २४० वर्षे राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको सम्झनामा गणतन्त्र दिवस मनाइन्छ।

यो दिन नेपाली जनताले निरङ्कुश शासनविरुद्ध गरेको ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेकपा (माओवादी)को सशस्त्र संघर्षद्वारा प्राप्त लोकतान्त्रिक उपलब्धिको उत्सव हो। नागरिक सर्वोच्चता, समावेशी समानुपातिक प्रतिनिधित्व, स्वतन्त्रता र उदार सामाजिक न्याय स्थापना भएको दिनका रूपमा जेठ १५ लाई स्मरण गरिन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्रले जनतालाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्दै सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र गरिबी न्यूनीकरणमा राज्यको प्राथमिकता तय गरिसकेको सन्देश दिन्छ।

राजधानीको टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष समारोह हुँदैछ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ भने लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान दिने अग्रजहरूको योगदानको स्मरण गरिनेछ।

लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्थामात्र नभई नागरिक जीवनशैली, शासन पद्धति र समाजको मूल चरित्र बन्नुपर्ने आजको सन्देशहरूमा जोड दिइएको छ। उदार लोकतान्त्रिक संस्कारमा आधारित गणतन्त्र नै जनताको जीवनस्तर सुधार र राष्ट्रिय समृद्धिको बलियो माध्यम भएको नेताहरूको धारणा छ।

राजनीतिक दलका नेताहरूले आजको दिन नयाँ पुस्तालाई बलियो अर्थतन्त्रसहितको समुन्नत भविष्य र लोकतान्त्रिक संस्कारसहितको सबल राज्य हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

संविधानप्रदत्त अधिकार र जनादेशअनुसार एकढिक्का भएर अघि बढ्न सके नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र थप संस्थागत, स्थायी र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

गणतन्त्रात्मक शासनले विकास, सुशासन, समावेशीता र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणको अभियानमा समेट्न सक्नुपर्ने स्पष्ट सन्देश यो दिवसले पुनः एकपटक दिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १५ २०८२०६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend