काठमाडौं- न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति र प्रधानमन्त्रीसँग बुधबार भएको छुट्टाछुट्टै भेटवार्तामा विकास सहकार्यलगायतका विषयमा छलफल भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा पिटर्ससँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
नेपाल र न्युजिल्याण्ड विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नतितर्फको हाम्रो यात्रालाई दिगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्युजिल्याण्डबाट सहयोगको अपेक्षा व्यक्त गरे।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन बचाउनका लागि मिलेर काम गर्न आग्रह गर्नुभएको थियो। न्युजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको रूपमा पहिचान गरेको उनको भनाइ थियो।
सो अवसरमा न्युजिल्याण्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशहरुको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताए।
नेपाल न्युजिल्याण्डका जनताको लागि रमणीय देश भएकाले यहाँको भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको लागि छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरूले चाहेको जानकारी दिए।
यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र पिटरबीचको भेटमा दुईपक्षीय हित, आपसी सम्बन्ध एवं बहुपक्षीय सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। उनीहरूबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराए।
उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका साथै अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए। सन् १९५३ मे २९ मा विश्वको सर्वाेच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ।