शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

जाइकाको सहयोगमा धुलिखेलमा बन्ने भयो ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’, प्रधानमन्त्रीले गरे शिलान्यास

बुधबार, जेठ १४ २०८२
जाइकाको सहयोगमा धुलिखेलमा बन्ने भयो ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’, प्रधानमन्त्रीले गरे शिलान्यास

निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ।

काभ्रेपलाञ्चोक- प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन्।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो। उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुई करोड ९६ लाख यान अनुदान दिनेछ।

यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो। आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट तीन अर्ब दुई करोड ९६ करोड यानको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप अनुदान उपलब्ध गराइएको जनाइएको छ।

निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ। सेन्टरमा पार्किङ, आईसीयु, तीनवटा अप्रेसन थिएटर, एचडीयू, ल्याब, फार्मेसी, फोहर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरु उपलब्ध हुनेछ। 

यस्तै सेन्टर सञ्चालनका लागि तीन तला बेसमेन्टसहित पाँच तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ। शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल पनि सहभागी थिए। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२१५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend