शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ऊर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

बुधबार, जेठ १४ २०८२
ऊर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

भेटमा ऊर्जामन्त्री दीपक खड्काले एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। 

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको हो।

भेटमा ऊर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढीरहेपनि एमसीसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए। उनले एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए। एमसीसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनको भनाइ थियो। उनले अहिले एमसीसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे।

एमसीसी अन्तर्गत सञ्चालित एमसीए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो। उक्त परियोजनाअन्तर्गत लप्सीफेदी-रातमाटे, रातमाटे-दमौली, दमौली-बुटवल र बुटवल- नेपाल-भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारणलाइन र सम्बद्ध सबस्टेसनहरु निर्माण हुनेछ।

भेटमा एमसीसी तथा एमसीएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो।


प्रकाशित : बुधबार, जेठ १४ २०८२१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend