शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशालासहितको कृषि तथा पशुपक्षी सेवा केन्द्र

मन्त्रालयका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिँदै जानेछ : कृषिमन्त्री अधिकारी

बुधबार, जेठ १४ २०८२
धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशालासहितको कृषि तथा पशुपक्षी सेवा केन्द्र

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अत्याधुनिक प्रयोगशालासहितको कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरिएको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले केन्द्रको मंगलबार उद्घाटन गरेका हुन्।

कृषि मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एवम् उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालनसँगै माटो, खेती बाली तथा पशुपक्षीमा लाग्ने रोगको परिक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गरे।

'यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानहरुका लागि महत्वपूर्ण उपलब्धि हो', उनले भने।

किसानलाई आफ्नै गाँउठाँउमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासहरुले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने बताए। उनले भने, 'सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ, कृषि क्षेत्र सुधारका लागि हाम्रा थुप्रै अपेक्षाहरु छन्, केहीको सम्बोधन बजेटमार्फत हुनेछ।'

पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधनसमेत भएको चर्चा गर्दै मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुने जानकारी स्पष्ट पारे।

समयमै मल किसानको बारीमा पुर्‍याउनका लागि आफूले प्रयास गरेको भए पनि किसानले मागेजति मल उपलब्ध हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल कम गर्दै प्रांगारिक मलको प्रवर्द्धनका लागि मन्त्रालयले कार्य गरिरहेको बताए।

धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गरे।

त्रिपुरासुन्दरी गाँउपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्रमार्फत वरपरका पालिकाहरुलाई समेत सेवा प्रदान गर्न सकिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। माटोलगायतको परिक्षणका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसबाट कृषि उब्जनीमा वृद्धि हुने उनको भनाइ छ।

कार्यक्रममा रिडका परियोजना निर्देशक डा.चन्द्रप्रसाद रिसालले सेवा केन्द्रको सञ्चालनमार्फत किसानहरुले आफ्नै पालिकामा एकै छानामुनि विशिष्टीकृत सेवा प्राप्त गर्नसक्ने बताए। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा व्यक्त गरे।

कुल दुई करोड ४३ लाख रूपैयाँ लागतमा निर्माण सम्पन्न भइ पालिकालाई हस्तान्तरण गरिएको सेवा केन्द्रमा कृषि तथा पशुपक्षीमा लाग्ने रोगका साथै माटो परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला सहितको सुविधा रहेको छ। रिडले मध्यपहाडी लोकमार्गलाई आधार मानी विभिन्न पालिकाहरुमा अत्याधुनिक प्रयोगशालासहितको यस्ता केन्द्रहरुको निर्माण गरी हस्तान्तरण गरिरहेको छ।


प्रकाशित : बुधबार, जेठ १४ २०८२१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend