शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम

बुधबार, जेठ १४ २०८२
बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उज्यालो पञ्चेश्वरलाई प्राथमिकता दिएको र सोहीअनुसार कार्यक्रम अघि बढिरहेको हो।

बैतडी- बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम भइरहेको छ। यहाँ रहेका तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत् विस्तारको काम धमाधम भइरहेको हो।

‘उज्यालो पञ्चेश्वर’ बनाउने उद्देश्यले यहाँ विद्युत् विस्तारको काम धमाधम भइरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उज्यालो पञ्चेश्वरलाई प्राथमिकता दिएको र सोहीअनुसार कार्यक्रम अघि बढिरहेको हो।

उनले भने, 'नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाभित्र पाँच हजार घरधुरी रहेकोमा चार हजार बढी घरधुरीमा विद्युत् सेवा पुगिसकेको छ। उज्यालो पञ्चेश्वरको सपना थियो, पूरा हुने तयारीमा छ।'

पञ्चेश्वर गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ देखि नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तारको काम गरिरहेको छ। चार करोड ९३ लाख रूपैयाँको ठेक्कामार्फत पञ्चेश्वरमा विद्युतीकरणको काम भइरहेको र गाउँपालिकाको वडा नं २ मा केही दिनभित्रै बिजुली बत्ती बाल्ने तयारी भएको अध्यक्ष चन्दले बताए।

वर्षौँदेखि टुकीको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय नरेन्द्र चन्दले बताए। उनले भने, 'बिजुली सपना जस्तै थियो तर अब भने त्यो सपना पूरा भएको छ।'

विद्युत विस्तार भएसँगै यहाँका नागरिक खुसी भएका छन्। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जिल्लाका विद्युत् सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको बताए।

उनले भने, 'जिल्लामा रहेका सबै अध्यारा बस्तीहरुमा विद्युत् विस्तारको काम हुँदैछ। छिट्टै नै सबै नागरिक विद्युतको पहुँचमा पुग्छन्।' रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend