शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

विदेश बस्ने आफन्तलाई 'रातो च्याउ' कोसेली

मंगलबार, जेठ १३ २०८२
विदेश बस्ने आफन्तलाई 'रातो च्याउ' कोसेली

पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रुपमा लैजाने गरेका छन्।

म्याग्दी- यहाँको लेकाली क्षेत्रको जंगलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ।

औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो। पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रुपमा लैजाने गरेका छन्।

जिल्लाको धवलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ। जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका-५ का इलमी बुढामगरले बताइन्।

'बुहारी र नाति नातिनी अहिले जंगलमा गएर च्याउ टिप्न व्यस्त छन्। दैनिक तीन/चार किलो च्याउ टिपेर ल्याउँछन्', बूढाले भनिन्, 'केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौंमा रहेका आफन्तहरु विदेशमा गएका आफन्तलाई कोसेलीको रुपमा पठाउने गर्छाैँ।'

आलो रातो च्याउ बजारमा आठ सयदेखि एक हजार दुईसय रूपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए।

धवलागिरि गाउँपालिका-४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिनअघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाइन्। जेठ लागेयता उनले १४ किलो च्याउ संकलन गरेर बिक्री गरी १५ हजार रूपैयाँभन्दा बढी आम्दानी गरेकी छिन्। बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ।

जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जंगलको च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन्। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend