बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनसरी सदरमुकामको साख गिराउने सडक आयोजना जसले नेतालाई लज्जित बनाउँछ

मंगलबार, जेठ १३ २०८२
सुनसरी सदरमुकामको साख गिराउने सडक आयोजना जसले नेतालाई लज्जित बनाउँछ

लौकही, गढी, इटहरी र बराहक्षेत्रको बीचमा पर्ने इनरुवालाई फैलिँदो सडक सञ्जालले एक्लो बनाएको छ। नजिकैका अन्य सहरहरू सहज भए पनि उपभोक्ताले इनरुवालाई माया मारेका छन्।

इटहरी- इनरुवाबाट १२ किलोमिटर पश्चिममा पर्छ लौकही बजार। लौकही बजारबाट झन्डै एक किलोमिटरमा नयाँ भारतीय बजार खुलेको छ। पछिल्लो पाँच वर्षमा फैलिएको सीमावर्ती भारतीय ‘बेला बजार’ सुनसरीका दक्षिणी भेगका स्थानीयको रोजाइमा परेको छ।

हुलाकी मार्गबाट विराटनगरदेखि लौकहीसम्म कालोपत्रे भएको छ। सोही सडकले जोडेको देवानगंज, कप्तानगंज, भुटाहा, हरिनगरलगायतका स्थानीयले बेला बजारलाई रोजेका हुन्। जोगवनीकै हिसाबका बेला बजारले ग्राहक तानिरहेको छ।

बेला बजारको विस्तारका पछाडि सुनसरी सदरमुकामसँग दक्षिणी भेगलाई जोड्ने इनरुवा-कम्तानगंज (कौवाखोच) सडकको योगदान छ। २२ किलोमिटर लामो सो सडक अस्तव्यस्त हुँदा इनरुवा बजार कमजोर बन्दै गएको छ। सदरमुकाम भएकाले केही प्रशासनिकबाहेक अन्य काममा स्थानीयले विकल्प खोजिसकेका छन्। त्यही विकल्पमध्ये एक हो बेला बजार।

स्थानीय व्यापारी रियाज आलमले पछिल्लो दशकमा इनरुवाको व्यापार खस्किँदो अवस्थामा पुगेको बताए। इटहरी, विराटनगरलगायत सहरको विस्तारसँगै इनरुवाले व्यापारिक चलायमानता गुमाएको उनको भनाइ छ। विराटनगरबाट हुलाकी मार्ग हुँदै पूर्वपश्चिम राजमार्गको लौकही (फुलचोक) पुग्न सकिने भएपछि इनरुवा छायामा परेको हो।

इनरुवा आउने देवानगंज, कप्तान्जगंज, हरिनगर, भुटाहा, बर्जू, गढीका नागरिकहरू हुलाकी मार्ग हुँदै विराटनगर पुग्ने गरेका छन्। इटहरीबाट पनि भित्री बाटो हुँदै गढी गाउँपालिकासम्म पहुँच पुगेको छ। लौकही, गढी, इटहरी र बराहक्षेत्रको बीचमा पर्ने इनरुवालाई फैलिँदो सडक सञ्जालले एक्लो बनाएको छ। नजिकैका अन्य सहरहरू सहज भए पनि उपभोक्ताले इनरुवालाई माया मारेका छन्।

सोही बाटोको कारण इनरुवाको व्यापार शून्यमा झरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाह बताउँछन्। केही प्रशासनिक कामको लागिबाहेक इनरुवामा आवागमन निकै कमजोर भएको उनको अनुभव छ। मुख्य राजमार्गबाहेक अन्य सडक सञ्जालको अवस्था कमजोर भएकाले इनरुवामा लगानीको वातावरण बन्न नसकेको शाहले बताए। 

inaruwa-kaptanganj sadak aayojana (6).jpg

ठेक्का रद्दको तयारी

हुलाकी राजमार्गअन्तर्गत इनरुवादेखि कप्तानगंजसम्मको २२ किलोमिटर गौरी पार्वती, देव एण्ड सायर र भूमि जेभीले ठेक्का पाएका हुन्। २०७८ साल माघमा सुरु भएको आयोजना २०८१ साउन १६ मा सक्नेगरी सम्झौता भएको हो। ५७ करोड ३१ लाख ४९ हजार रूपैयाँको लागतमा बन्ने आयोजनाको काम १२ प्रतिशतमात्र सम्पन्न भएको छ।

निर्माण कम्पनीले हालसम्म ९ करोड ८४ लाख रूपैयाँ भुक्तानी लगिसकेको छ तर काममा भने प्रगति नदेखिएको आयोजना कार्यालयले जानकारी दिएको छ। हुलाकी सडक आयोजना कार्यालय इटहरीले पटक-पटक ताकेता गर्दासमेत ठेकेदारले काम नगरेपछि ठेक्का अन्त्य गर्ने पत्र सडक विभागमा पठाइसकेको छ।

त्यसपछि सडक विभाग र कम्पनीबीच जेठ पहिलो साता भएको सहमतिअनुसार दश दिनभित्र काम सुरु गर्ने सहमति भएको थियो। यसबीचमा पनि कुनै प्रगति नभएपछि ठेक्का अन्त्य गर्दै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउन लागिएको आयोजना कार्यालयका इन्जिनियर उपेन्द्र दासले बताए। 

inaruwa-kaptanganj sadak aayojana (5).jpg

स्थानीय भएको हिसाबमा भूमिले काम गर्ने सहमति भएको थियो। जेभीमा सञ्चालित आयोजनाको काम अहिले गौरी पार्वतीले जिम्मा लिएको छ। सो कम्पनीले पनि स्थानीय ठेकेदार अब्बास अन्सारीलाई जिम्मेवारी दियो। अन्सारीकै पहलमा केही काम भयो तर निरन्तर हुन सकेन।

अन्सारीका अनुसार ५ करोड लगानी भएको तर भुक्तानी नपाएको कारण काम रोक्नुपर्ने अवस्था आएको हो। गौरी पार्वतीले भुक्तानी नदिएर समस्यामा परेका छन् अन्सारी। गौरी पार्वतीले बैंक ग्यारेन्टी नवीकरण गरिसके पनि आयोजनाले म्याद थप गर्ने प्रक्रिया अगाडि बढाएको छैन। पूर्ववत सहमतिअनुसार काम नगरेको भन्दै आयोजना कार्यालय ठेक्का रद्द गर्ने तयारीमा लागेको छ। 

नेतालाई सास्ती 

इनरुवा कौवाखोच सडकको विषयले स्थानीय सरकार प्रमुखलाई पिरोलेको छ। आफ्नो क्षेत्राधिकार बाहिरको आयोजना भए पनि नागरिकको आक्रोशको शिकार भएका छन् पालिका प्रमुखहरू। देवानगंज, हरिनगर गाउँपालिका र इनरुवा नगरपालिकाका प्रमुखलाई सोही सडक महँगो पर्दै गएको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट नीति तथा कार्यक्रमको लागि सरोकारवालसँगको छलफलमा समेत इनरुवाका स्थानीय व्यवसायीले सोही विषय उठाए। विषय उठानमात्र गरेनन् २०८४ को निर्वाचन स्मरण गराए।

प्रदेश र प्रतिनिधिसभा सदस्यलाई इनरुवा-कौवाखोच सडक पिरलो बनेको छ। कालोपत्रे नभएपछि स्थानीयवासी नेतालाई गुहार्न पुग्छन्। सुनसरी क्षेत्र नम्बर २ मा पर्ने सो सडकको विषयमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री भीम आचार्यलाई स्थानीयले सडकमै बोलाए। उनले आयोजना कार्यालयलाई दबाब दिए। तर दबाबले काम गरेन।

inaruwa-kaptanganj sadak aayojana (4).jpg

निर्माण कम्पनीले कुनै तदारुकता नदेखाएपछि आचार्य अप्ठ्यारोमा परेका छन्। अहिले आचार्यलाई सो क्षेत्रका नागरिकले खोजिरहेका छन्। प्रदेशसभा सदस्य रामप्रसाद मेहताले पनि ठेकेदारसँग सम्पर्क गरे तर पार लागेन। 

जनप्रतिनिधिले मात्र होइन पूर्वसांसद र मन्त्रीलाई समेत इनरुवा कौवाखोच सडकले आजित बनाएको छ। निर्माण व्यवसायी सम्पर्कमा नआए पनि स्थानीयले घर घेर्ने गरेका छन्। प्रत्येक चुनावको मुख्य एजेन्डाको रूपमा रहँदै आएको इनरुवा-कौवाखोच सडक आयोजनाले नेताहरू लज्जितमात्र भएका छैनन्, जनताको भरोसा पनि गुमाएका छन्। 

संविधानसभा सदस्य तथा पूर्वमन्त्री सिताराम मेहताले चुनावमा बारम्बार इनरुवा-कौवाखोच सडक बनाउने प्रतिबद्धता जनाए। २०७९ को निर्वाचनमा चुनाव हारे पनि उनलाई त्यही सडकका कारण स्थानीयले दबाब दिइरहेका छन्। 


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend