बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतको ऊर्जा बजारमा ऐतिहासिक न्यून मूल्य, नेपालले गर्‍यो आयात-निर्यातको फाइदा

मंगलबार, जेठ १३ २०८२
भारतको ऊर्जा बजारमा ऐतिहासिक न्यून मूल्य, नेपालले गर्‍यो आयात-निर्यातको फाइदा

भारतको उर्जा विनिमय बजार (आइएक्स) मा शनिबार (२०८२ जेठ ११) दिउँसोको समयमा विद्युतको दर हालसम्मकै सबैभन्दा सस्तो दरमा झरेको छ।

काठमाडौं- भारतको ऊर्जा विनिमय बजार (आइएक्स) मा शनिबार (२०८२ जेठ ११) दिउँसोको समयमा विद्युतको दर हालसम्मकै सबैभन्दा सस्तो दरमा झरेको छ।

रियल टाइम बजारमा उक्त दिनको सरदर मूल्य प्रति मेगावाट घण्टा ७२ पैसा भारतीय रुपैयाँ (नेपाली मुद्रामा झण्डै १ पैसा प्रतियुनिटभन्दा कम) पुगेको हो। यस ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै नेपाल विद्युत प्राधिकरणले सो दिन ३८४० मेगावाट घण्टा विद्युत सस्तो मूल्यमा आयात गरेको छ।

यसै दिन बेलुकी प्राधिकरणले भारततर्फ ५२७.५ मेगावाट घण्टा विद्युत प्रति युनिट ६ रुपैयाँ ६० पैसा (भारतीय मुद्रा) मा निर्यात गरेको थियो। 

गत हप्ता (जेठ ३ देखि १० गते) को प्राधिकरणको विवरणअनुसार नेपालले कुल २७ हजार ६ सय ४५.९४७ मेगावाट घण्टा विद्युत औसत ३.३७ रुपैयाँ प्रतियुनिटमा आयात गरेको छ भने ८ हजार ४ सय १७.५२५ मेगावाट घण्टा विद्युत औसत ५.१५ रुपैयाँ प्रतियुनिटमा निर्यात गर्न सफल भएको छ। यसले नेपालले आयातभन्दा उच्च दरमा विद्युत निर्यात गरी आर्थिक लाभ लिन सफल भएको प्रष्ट देखिन्छ।

विद्युत व्यापारमा देखिएको यस सफलताको मुख्य श्रेय जलासय र अर्धजलासय जलविद्युत् आयोजना सञ्चालन क्षमतामा जानकार निर्णय र व्यवस्थापनलाई जानिन्छ। दिउँसो सौर्य ऊर्जा उत्पादन अधिक हुने समय (सोलार आवर) मा सस्तो विद्युत आयात गरेर जलासयमा पानी सञ्चय गरिएको थियो। सो पानीलाई उच्च माग हुने समयमा प्रयोग गरिँदा निर्यात मूल्यसमेत तुलनात्मक रूपमा उच्च राख्न सफल भएको हो।

भारतले सन् २०३० सम्म ५ लाख मेगावाट सौर्य तथा बायु ऊर्जा उत्पादनको लक्ष्य लिएको छ। ती अक्षय ऊर्जाको तीव्र विकाससँगै विद्युतको बजार दरमा दिउँसोका समयमा थप गिरावट आउने सम्भावना प्रवल देखिन्छ। यसले नेपालका लागि विद्युत् भण्डारण र पुनःवितरण प्रणालीलाई प्रभावकारी रूपमा विकास गर्न आवश्यक बनाएको छ।

विशेषतः पम्प स्टोरेज परियोजना  र ब्याट्री ऊर्जा भण्डारण प्रणाली जस्ता प्रविधि नेपालको ऊर्जा भविष्यका लागि अपरिहार्य देखिन्छन्। सस्तो मूल्यमा आयात गरिएको विद्युत् उपयोग गरी मा पानी उचालेर राख्ने र बीइएसएस मा चार्ज गर्ने, त्यसपछि उच्च माग हुने बेलुकीका समयमा निर्यात वा आन्तरिक आपूर्तिका लागि प्रयोग गर्ने रणनीति अब आवश्यक मात्रै होइन, अपरिहार्य बन्दै गएको छ।

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजारमा सन् २०२१ मे महिनाबाट डे-अहेड बजारमा र सन् २०२३ अक्टोबरदेखि रियल टाइम बजारमा सहभागिता जनाउँदै आएको छ।


प्रकाशित : मंगलबार, जेठ १३ २०८२०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend