शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

फोहरमा मोहर खोजिरहेका तीन दाजुभाइ : वार्षिक ५० लाखसम्म कमाइ, तीन भारतीयसहित ६ जनालाई दिएका छन् रोजगारी

सोमबार, जेठ १२ २०८२
फोहरमा मोहर खोजिरहेका तीन दाजुभाइ : वार्षिक ५० लाखसम्म कमाइ, तीन भारतीयसहित ६ जनालाई दिएका छन् रोजगारी

तीनजना दाजुभाइमा सुशीलले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दैछन् भने उमेशले बीएससी सकेर हाल एमए इकोनमिक्समा अध्ययनरत छन् र टार्जनले बीबीए पूरा गरिसकेका छन्। उनीहरुमा न विदेश जाने सोच छ न त सरकारी जागिर नै।

पाल्पा- हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ। यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ। कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन्।

यहाँको तानसेन नगरपालिका-६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्षयता फोहरमा मोहर खोज्दैछन्। यहाँका सुशील, उमेश  र टार्जन भण्डारीले तानसेन-७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहरबाट मोहर खोज्दै आएका हुन्।

तानसेन बजारबाट दैनिक निस्कने फोहरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी संकलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन्। उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन्। उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोगविहीन वस्तुहरु संकलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन्।

तीनै दाजुभाइले स्नातकसम्मको अध्ययन गरेका छन्। सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दैछन् भने उमेशले बीएससी सकेर हाल एमए इकोनमिक्समा अध्ययनरत छन् र टार्जनले बीबीए पूरा गरिसकेका छन्। तर उनीहरुमा न विदेश जाने सोच छ न त सरकारी जागिर नै। तीन दाजुभाइको एउटै सोच छ - तानसेनलाई फोहरमुक्त सहर बनाउने।

संकलित कवाडी वस्तुहरुको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौं, वीरगञ्जलगायत ठूला सहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए। केही वस्तुहरु भने आफै रिसाइकल गर्ने गरेको उनको भनाइ छ। उनीहरुले कवाडी संकलनबाटै वार्षिक ३० देखि ५० लाखसम्म कमाइ गर्दै आएका छन्। कवाडी संकलनका लागि उनीहरुले ६ जनालाई रोजगारी दिएका छन्। यहाँ तीनजना नेपाली र तीनजना भारतीय नागरिकले रोजगार पाएका छन्।

सुरुमा पढेका युवाहरुले फोहर संकलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन्। उमेश सुरुका दिन सम्झँदै भन्छन्, 'सुरुवातमा  हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका  युवाले  कवाडी संकलन गरेर खालान भनेर, त्यतिबेला नत स्थानीय सरकारले सहयोग गर्‍यो न त समाजमा कसैले साथ दिए। परिवारलाई बुझाउन गाह्रो भो, बरु हामीले फोहर संकलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए।'

पहिले-पहिले फोहर संकलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे। तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन्। प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी संकलन हुन्छ। संकलन भएका फोहरलाई त्यसको प्रकारका आधारमा छुट्टाएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन्। कवडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगपालिकालाई कर बुझाउँदै आएका छन्। रासस


प्रकाशित : सोमबार, जेठ १२ २०८२११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend