शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ठूला योजना सम्पन्न गराउन पूर्वाधारमन्त्री दाहालको ताकेता, स्थलगत अनुगमनमा व्यस्त

सोमबार, जेठ १२ २०८२
ठूला योजना सम्पन्न गराउन पूर्वाधारमन्त्री दाहालको ताकेता, स्थलगत अनुगमनमा व्यस्त

ग्वार्को फ्लाइओभर पूरा हुन निर्धारित समयभन्दा ढिला भइसकेको उल्लेख गर्दै पूर्वाधारमन्त्री देवेन्द्र दाहालले यसै महिनाभित्र निर्माण पूरा गरी सवारीसाधन सञ्चालन हुने अवस्थामा पुर्‍याउन निर्देशन दिए।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललले मन्त्रालयमार्फत सुरु भएको काठमाडौंका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाएका छन्। संघीय राजधानीभित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उनले छिटो सम्पन्न गर्न निर्देशनसमेत दिएका छन्।

मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वसहित मन्त्री दहालले आइतबार विभिन्न पूर्वाधार योजनाहरुको निरीक्षण गरे। उनीसहित मन्त्रालयको टोलीले ग्वार्को तथा थानकोटमा निर्माणाधिन फ्लाइओभर र नागढुंगा सुरुङको निरीक्षण गरेको हो।

मन्त्री दाहालको निरीक्षणक्रम बिहान ग्वार्को फ्लाइओभरबाट सुरु भइ नागढुंगा सुरुङसम्म पुगेको थियो। ग्वार्को फ्लाइओभर निरीक्षणका क्रममा मन्त्री दाहालले सो योजना जेठ महिनाभित्रमा निर्माण पूरा हुने बताए।

निर्माण पूरा भएलगत्तै त्यहीँबाट सवारीसाधन सञ्चालन सुरु हुनेसमेत उनले जनाएका छन्। सो योजना पूरा हुन निर्धारित समयभन्दा ढिला भइसकेको उल्लेख गर्दै यसै महिनाभित्र पूरा गरी सवारीसाधन सञ्चालन हुने अवस्थामा पुर्‍याउन निर्देशन दिए।

nagdhunga.jpg

ग्वार्को फ्लाइओभरको निरीक्षणपछि मन्त्री दाहालले काठमाडौं प्रवेश गर्ने प्रमुखद्वारमध्येको थानकोट पुगेका थिए। त्यहाँ उनले निर्माणाधीन फ्लाइओभरको निरीक्षण गरे। त्यसक्रममा उनले सो फ्लाइओभर निर्माण पूरा भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको जाम हुने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरेका थिए।

हाल फ्लाइओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ।

devendra dahal - nagdhunga surung nirichhen.jpg

यस्तै, मन्त्री दाहालले नागढुंगा सुरुङमार्गको समेत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सो सुरुङमार्ग निर्माणसँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङ युगमा प्रवेश गर्ने बताए। सुरुङको समेत मुख्य संरचना निर्माण भइ सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ। 

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ सञ्चालनको मोडालिटी निर्माण भइरहेको छ। सोही मोडालिटीअनुसार सुरुङबाट सवारीसाधन सञ्चालन गरिने उनले बताए।


प्रकाशित : सोमबार, जेठ १२ २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend