शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नो लाइट शाखाको निरीक्षणपछि ऊर्जामन्त्रीले भने- लोडसेडिङ हुन दिइँदैन

सोमबार, जेठ १२ २०८२
नो लाइट शाखाको निरीक्षणपछि ऊर्जामन्त्रीले भने- लोडसेडिङ हुन दिइँदैन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखाको स्थलगत निरीक्षण गरेका छन्। सो क्रममा उनले उपभोक्ताको गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन्।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखाको स्थलगत निरीक्षण गरेका छन्। सो क्रममा उनले उपभोक्ताको गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन्। 

मन्त्री खड्काले नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिएका थिए। 

हाल देशमा उत्पादन भइरहेको विद्युत् माग पूरा गर्न पर्याप्त रहेको स्पष्ट पार्दै उनले भने,'लोडसेडिङ हुँदैन, हुन दिइदैन।' केही समूह वा व्यक्तिले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेको भन्दै उनले त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न अनुरोध गरे। 

'विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो', उनले भने, 'अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ। कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ। अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन्।'

स्थलगत निरीक्षणकै क्रममा मन्त्री खड्काले स्युचाटारस्थित एलडीसी (लोड डिस्प्याच सेन्टर)को समेत आकस्मिक अवलोकन गरेका थिए। एलडीसीमार्फत मुलुकभरको विद्युत् प्रवाह अवस्था नियाल्दै उनले प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे प्रत्यक्ष जानकारी लिए। 

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न पनि निर्देशन दिएका छन्। बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आमजनतामा भ्रम सिर्जना गर्ने भन्दै उनले त्यसप्रति सचेत रहन जोड दिए। 

उनले भने, 'हामी सस्तोमा बिजुली किनेर अहिले भारतलाई उच्च मूल्यमा बेच्न सफल भएका छौँ।' विद्युत् व्यापार राष्ट्रको हितमा प्रयोग भइरहेको उनले बताए। 

निरीक्षण टोलीमा ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित अन्य प्राविधिक अधिकारीको उपस्थिति थियो।

सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाइ गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले दाबी गरे। 


प्रकाशित : सोमबार, जेठ १२ २०८२०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend