शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

फाप्लु–काठमाडौं सातामा चार दिन नियमित उडान, स्थानीय र पर्यटन व्यवसायी उत्साहित

सोमबार, जेठ १२ २०८२
फाप्लु–काठमाडौं सातामा चार दिन नियमित उडान, स्थानीय र पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँका लागि सातामा चार दिन नियमित उडान सुरु भएपछि स्थानीयवासी र पर्यटन व्यवसायीहरूमा उत्साह देखिएको छ।

सोलुखुम्बु- सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँका लागि सातामा चार दिन नियमित उडान सुरु भएपछि स्थानीयवासी र पर्यटन व्यवसायीहरूमा उत्साह देखिएको छ।

नेपाल एयरलाइन्सको प्राविधिक समस्या समाधान भएसँगै लामो समयपछि फाप्लु-काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ।

प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार प्राविधिक खराबीका कारण लामो समय ग्राउण्डेड रहेको जहाज मर्मतपछि पुनःउडानयोग्य बनेको हो। 'पुसदेखि चैत्रसम्म सेवा पूर्णरूपमा ठप्प थियो, अब भने नियमित उडान हुने व्यवस्था मिलाइएको छ', उनले भने।

नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार यसअघि जहाजले साताको एक दिन मात्रै सेवा दिँदै आएकोमा प्राविधिक अवरोधपछि त्यो पनि बन्द भएको थियो।

स्थानीय व्यवसायी महेश अधिकारीले हवाई सेवा पुनःसञ्चालन भएपछि ‘बिपी राजमार्ग’ हुँदै राजधानी ओहोरदोहोर गर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताए। 'अब नियमित जहाज चल्ने भएपछि अत्यावश्यक काम, व्यापार, आपत्कालीन उपचारका लागि ठूलो राहत भएको छ', उनले भने, 'तर यो सेवा स्थायी र भरपर्दो हुनुपर्छ, अलि चल्यो अनि फेरि रोकियो भने फेरि समस्या बढ्छ',।

उडान पुनःसञ्चालनसँगै पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव देखिएको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए। 'पर्यटकको सहज यात्रा सुनिश्चित भएपछि गाइड र होटल व्यवसायीले पनि राहतको महसुस गरेका छन्', उनले भने।

सगरमाथा क्षेत्र प्रवेशद्वारको रूपमा रहेको फाप्लु विमानस्थलको नियमित सञ्चालन पर्यटन, व्यापार र सेवा प्रवाहको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। स्थानीय तह र सरोकारवाला निकायले सेवा नियमित, भरपर्दो र दिगो बनाइराख्न संयुक्त पहल आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। रासस


प्रकाशित : सोमबार, जेठ १२ २०८२०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend