शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आर्थिक समृद्धिको आधार पर्यटन : पर्यटनमन्त्री पाण्डे

आइतबार, जेठ ११ २०८२
आर्थिक समृद्धिको आधार पर्यटन : पर्यटनमन्त्री पाण्डे

'नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभई यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ब्राण्डिङ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ', उनले भने।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

गणतन्त्र दिवस-२०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उनले पर्यटनका क्षेत्रबाट मुलुकमा समृद्धि हासिल हुनेगरी नीतिगत र संरचनागत सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए।

पर्यटनमन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पर्वतीय पर्यटनको एकीकृत विकासलाई समन्वयात्मक किसिमले विकास गर्न जरुरी भएको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको ब्राण्डिङ र प्रचारका लागि नीतिगत रुपमा अघि बढ्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गरे।

मन्त्री पाण्डेले भने, 'नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभइ यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ‘ब्राण्डिङ’ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ। प्रदर्शित तस्बिरले पर्यटन विकासका साथै नेपालमा केही भइरहेको छ, भन्ने सन्देश प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास लिएको छु।'

नेपालमा अनुपम र अद्वित्तीय पर्यटकीय ठाउँहरू छन्। प्राकृतिक र भौगोलिक विविधताले सम्पन्न हाम्रा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न सरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले बताए।

मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि अन्तरसरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय जरुरी रहेको औँल्याए। उनले पर्यटकीय गन्तव्यको प्रवर्द्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष योजना बनाएर अघि बढ्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : आइतबार, जेठ ११ २०८२१५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend