शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विपद् भोगेको एक वर्षपछि गुल्मीका पीडितले पाउने भए राहत, ३५९ जनाको पहिलो किस्ता निकासा

शुक्रबार, जेठ ९ २०८२
विपद् भोगेको एक वर्षपछि गुल्मीका पीडितले पाउने भए राहत, ३५९ जनाको पहिलो किस्ता निकासा

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय तहको खातामा पठाइएको हो।

गुल्मी- जिल्लामा एक वर्षपछि आगलागी र मनसुनजन्य विपद्‌बाट पीडित परिवारले राहत पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले आगलागी र मनसुनजन्य विपद्अन्तर्गत पहिलो किस्ताको रकम निकासा गरेको हो।

विपद्‌बाट पीडित परिवारले क्षति भएको एक वर्षपछि मात्र राहत रकम पाउने भएका हुन्। पीडित परिवारले समयमा राहत रकम नपाएका कारण निर्माण सुरु गरेका घर पनि अधुरै थिए। विपद्‌बाट पीडित ३५९ जनाको पहिलो किस्ता निकासा भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

गुल्मीमा आगलागी घटनाका ४७ परिवार र मनसुनजन्य विपद्‌बाट क्षति भएका ३१२ परिवारलाई पहिलो किस्ताबापतको रकम निकासा गरिएको हो। उक्त रकम जिल्ला प्रशासन कार्यालयको जिल्ला विपद् व्यावस्थापन कोषबाट स्थानीय तहमा पठाइएको प्रजिअ गौतमले बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय तहको खातामा पठाइएको हो। जिल्ला विपद् व्यवस्थापन कोषमा तीनै तहबाट जम्मा भएको रकम लाभग्राहीका आधारमा सम्बन्धित पालिकामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालका अनुसार मनसुनजन्य विपद्अन्तर्गत राहत पाउनेमा धुर्कोट गाउँपालिकाका १२४, रेसुंगा नगरपालिकाका ७६, कालीगण्डकीका ३७, रुरुक्षेत्रका १९, इस्माका १३, चन्द्रकोटका १४, मुसिकोटका आठ, मदानेका तीन, मालिकाका ११, गुल्मीदरबारका चार, छत्रकोटका दुई र सत्यवतीका एक परिवार रहेका छन्।

त्यसैगरी, आगलागीबाट पीडित इस्माका २९, छत्रकोटका तीन, रेसुंगाका दुई, धुर्कोटका दुई, मालिकाका दुई, कालीगण्डकीका दुई, रुरुक्षेत्रका चार, मदानेका दुई र मुसिकोटका एक परिवारका लागि रकम निकासा गरिएको हो। उनीहरुले पहिलो किस्ताबापत जनही ५० हजार रूपैयाँ पाउने भएका छन्।

पहिलो किस्ताका लागि केन्द्रबाट एक करोड ६० लाख र प्रदेशबाट ५३ लाख ८५ हजार रूपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend