शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सीमाक्षेत्रमा हुने चोरीतस्करी रोक्न गृहमन्त्री लेखकको निर्देशन

शुक्रबार, जेठ ९ २०८२
सीमाक्षेत्रमा हुने चोरीतस्करी रोक्न गृहमन्त्री लेखकको निर्देशन

उनले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिए।

जनकपुरधाम- गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिए।

गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले  देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिए।

'देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन्। मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ। उल्लेखित समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरूरी छ', उनले भने।

गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानूनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भइ छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिए।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षाका काम गर्न समस्या भएको गुनासो गरे। उनले प्रदेशअन्तर्गत रहेका सुरक्षा निकायलाई आफ्नो सीमित साधनस्रोतका बाबजुद सक्दो सहयोग गरिरहेको भन्दै तत्काल प्रहरी समायोजनको काम अगाडि बढाउन आग्रह गरे।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले छिमेकी देशमा बलिरहेको द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिँदै जाने अवस्थातर्फ सतर्क तथा सचेत रहन सुरक्षा निकायलाई आग्रह गरे।

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend