शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ८ २०८२
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन

यहाँबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार राजस्व संकलन भएको छ।

भद्रपुर- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व संकलनको लक्ष्य रहेको थियो। 'गत आव २०८०/८१ को सोही अवधिमा राजस्व १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व संकलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ', उनले भने।

कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ। यसैगरी तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार रुपैयाँ संकलन भएको हो। 

त्यस्तै यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार, कफीबाट १९ करोड ३६ लाख ९० हजार, दलहनबाट २० करोड २९ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए। 

यहाँबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार राजस्व संकलन भएको छ। सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व संकलन भएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ८ २०८२१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend