शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अर्थमन्त्री र नवनियुक्त गभर्नर विश्व पौडेलबीच भेटवार्ता

बुधबार, जेठ ७ २०८२
अर्थमन्त्री र नवनियुक्त गभर्नर विश्व पौडेलबीच भेटवार्ता

भेटमा अर्थमन्त्री पौडेलले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै, हाल देखापरेका आर्थिक तथा मौद्रिक चुनौती समाधानमा गभर्नर पौडेलको नेतृत्व निर्णायक हुने विश्वास व्यक्त गरे।

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलबीच आज भेटवार्ता भएको छ।

गभर्नरमा नियुक्त भएपछिको पहिलो दिन डा. पौडेल अर्थ मन्त्रालय पुगी अर्थमन्त्री पौडेललाई भेटेका हुन्। सो अवसरमा अर्थमन्त्रीले गभर्नर डा. पौडेललाई पदबहालीको बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटमा अर्थमन्त्री पौडेलले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै, हाल देखापरेका आर्थिक तथा मौद्रिक चुनौती समाधानमा गभर्नर पौडेलको नेतृत्व निर्णायक हुने विश्वास व्यक्त गरे।

जवाफमा गभर्नर डा. विश्व पौडेलले अर्थ मन्त्रालयले मुलुकको समग्र अर्थतन्त्रको नीति तय गर्ने र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत त्यसको कार्यान्वयनमा सहयोग पुर्‍याउने भूमिका निर्वाह गर्ने बताए। उनले वित्तीय प्रणाली सुदृढ गर्न राष्ट्र बैंकको नियामकीय र सुपरीवेक्षण क्षमतामा थप ध्यान दिने प्रतिबद्धता जनाए।

भेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले समेत गभर्नर डा. पौडेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित : बुधबार, जेठ ७ २०८२११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend