काठमाडौं- नागढुंगा-नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म प्रत्येक दिन दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ। सडक सुधार तथा पिचका लागि आवश्यक निर्माण कार्य दिनको समयमा गर्नुपर्ने भएपछि सडक बन्द गर्ने निर्णय गरिएको हो।
यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र सवारी आवागमन रोकिएर काम हुँदै आएको थियो। तर, प्राविधिक कारण देखाउँदै अब निर्माणको मुख्य काम दिउँसो गर्नुपर्ने भएकाले दिउँसो नै सडक बन्द गरिने भएको हो।
जेठ १० देखि २५ गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म नागढुंगा-नौबिसे सडकखण्ड बन्द गरिनेछ।
हाल नागढुंगादेखि नौबिसेसम्मको सडकखण्डमा मोड सुधार, फराकिलो बनाउने र नयाँ पिच बिछ्याउने काम तीव्र रुपमा भइरहेको छ। रातिको समयमा भत्काउने काम सम्पन्न भइसकेको र अब निर्माण तथा पिचका लागि उपयुक्त तापक्रम र सुरक्षाका कारण दिनको समयमा काम गर्नुपर्ने आयोजनाले जनाएको छ।
यस अवधिमा सवारी आवागमन प्रभावित हुने भएकाले स्थानीय प्रशासनले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ। वैकल्पिक मार्गका रुपमा धार्के–सितापाइला मार्ग र टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न सकिने बताइएको छ।
सडक बन्द हुने समयमा काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुंगा तथा नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने छन्। प्रशासनले यात्रु तथा सवारी चालकहरुलाई समयमै योजना बनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।