काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समितिको बैठक सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ।
बैठकमा समिति सदस्य पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे पनि रहेका छन्। राजस्व सचिव दिनेशकुमार घिमिरे टिप्पणी उठाउनका लागि सहभागी रहेको अर्थ मन्त्रालयले जनाएको छ।
तीन सदस्यीय सिफारिस समितिले आजै गभर्नरका लागि सम्भावित ३ जनाको नाम सिफारिस गर्ने बताइएको छ। समितिले सिफारिस गरेका तीन नाममध्येबाट आजै बस्ने मन्त्रिपरिषद्को बैठकले एकलाई गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ।
राष्ट्र बैंक ऐनमा १ डेपुटी गभर्नरसहित ३ जना गभर्नरका सम्भावित नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।
पूर्वगभर्नर महाप्रसाद अधिकारीको गत चैत २४ मा कार्यकाल सकिए पनि सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गर्दै आएको छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले दुवैले गभर्नर पदमा दाबी गरेपछि गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ हुँदै आएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच आज भएको भेटवार्तापछि गभर्नर नियुक्ति आजै गर्ने सहमति भएको बताइएको छ। दुई नेताबीच भएको सहमतिअनुसार नै अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका हुन्।