शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, गभर्नर नियुक्तिका विषयमा छलफल

मंगलबार, जेठ ६ २०८२
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, गभर्नर नियुक्तिका विषयमा छलफल
फाइल तस्बिर।

गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको भए पनि समितिको बैठकसमेत बस्न नसकेको अवस्था छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने विषयलाई केन्द्रमा राख्दै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीतिक परिस्थितिसँगै राष्ट्र बैंकको नेतृत्वबारे गम्भीर छलफल भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

यसअघि सोमबार तय भएको भेट प्रधानमन्त्री ओली अस्वस्थ भएपछि स्थगित भएको थियो। सोमबार नै देउवासँगको भेट टार्दै प्रधानमन्त्री ओलीले 'मलाई सञ्चो भएन, आज भेट नगरौँ' भन्दै सूचना दिएका थिए।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ। तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन।

राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै सिफारिस प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था भए पनि सरकारले त्यसअनुसार कदम चाल्न सकेको छैन।

गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको भए पनि समितिको बैठकसमेत बस्न नसकेको अवस्था छ। समितिले तीनजनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषदले त्यसमध्ये एकजना गभर्नर नियुक्त गर्ने प्रावधान छ।

सभापति देउवाले प्रधानमन्त्री ओलीसमक्ष गभर्नरमा अर्थविद् डा. विश्व पौडेलको नाम प्रस्ताव गरिसकेका छन्। प्रारम्भिक चरणमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नामबारे पनि छलफल भएको थियो तर प्रधानमन्त्री ओली त्यसमा सहमत नभएपछि देउवाले पौडेलको नाम अघि सारेका हुन्।


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend