शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

मंगलबार, जेठ ६ २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो। पर्यटकलाई लक्षित गरेर वडा कार्यालयनजिकै १० लाख रूपैयाँ बजेटमा बाल उद्यानसमेत निर्माण गरिएको छ।

भोजपुर- अरुण गाउँपालिका-७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ। यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो।

कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए। कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उनको भनाइ छ।

कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताए। प्रदेश सरकारबाट प्राप्त पाँच लाख रूपैयाँ बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए।

यहाँका कैलाश पर्वत, हरित हिल, गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ कामको थालनी गरिएको वडाध्यक्ष थापाले बताए। पर्यटकलाई लक्षित गरेर वडा कार्यालयनजिकै १० लाख रूपैयाँ बजेटमा बाल उद्यानसमेत निर्माण गरिएको उनले जानकारी दिए।

यहाँको कैलाश पर्वत, हरित हिललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ वडाले गरिरहेको कामले उत्साह थपिएको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए। यहाँ कैलाश पर्वतसँगै गौरीशङक्र मन्दिर र सिंहदेवी मन्दिर रहेकाले यो स्थानको छुट्टै महत्व रहेको उनको भनाइ छ।

'यहाँको पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारले गरिरहेको काम राम्रो छ', उनले भने, 'कसैको नजर नपर्दा यी ऐतिहासिक स्थान संरक्षणविहीन बनेको अवस्था थियो। यी क्षेत्रको विकासपश्चात यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने हामीले अपेक्षा लिएका छौँ।'

कैलाश पर्वत र गौरीशंकर मन्दिरमा वर्षमा एकपटक भव्य मेला लाग्ने उनको भनाइ छ। मेलामा स्थानीयसँगै छिमेकी जिल्लाबाट समेत मानिसहरू दर्शन गर्न आउने उनले बताए। रासस


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend