शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नारायणघाट-बुटवल सडकमा ८३ प्रतिशत कालोपत्रे, दाउन्ने खण्डमा ढलानको काम जारी

मंगलबार, जेठ ६ २०८२
नारायणघाट-बुटवल सडकमा ८३ प्रतिशत कालोपत्रे, दाउन्ने खण्डमा ढलानको काम जारी

पुल बाहेकको ११०.४६ किलोमिटर खण्ड कालोपत्रे गर्नुपर्नेमा हालसम्म एकतर्फी रूपमा ९०.८७ किलोमिटर खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ। त्यसअनुसार अहिले झण्डै ९३.९४ किलोमिटर सडक पक्की बनेको छ, जसले गर्दा यात्रुहरूलाई करीब ८३ प्रतिशत भागमा सहज यात्रा सम्भव भएको छ।

काठमाडौं- बहुप्रतीक्षित नारायणघाट-बुटवल सडकखण्डको निर्माण कार्यले तीव्रता पाएको छ। ११३.५३ किलोमिटर लामो यो सडकखण्डको झण्डै ८३ प्रतिशत भागमा यातायातकालागि कालोपत्रे सडक तयार भएको आयोजनाले जनाएको छ। बाँकी भागमा भने निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

परियोजनाको हालसम्मको विवरण अनुसार, कुल लम्बाईमध्ये पुलले ओगटेको लम्बाई ३.०७ किलोमिटर रहेको छ। पुल बाहेकको ११०.४६ किलोमिटर खण्ड कालोपत्रे गर्नुपर्नेमा हालसम्म एकतर्फी रूपमा ९०.८७ किलोमिटर खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ। त्यसअनुसार अहिले झण्डै ९३.९४ किलोमिटर सडक पक्की बनेको छ, जसले गर्दा यात्रुहरूलाई करीब ८३ प्रतिशत भागमा सहज यात्रा सम्भव भएको छ।

निर्माणमा ढिलो भएको प्रमुख खण्ड दाउन्ने क्षेत्र नै हो। त्यहाँ हाल कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको छ भने ढलान सडक निर्माण कार्य पनि समानान्तर रूपमा जारी छ। प्राविधिक दृष्टिले जटिल मानिने यो क्षेत्रमा अपेक्षाकृत बढी समय लागेको हो।

हालसम्मको समग्र भौतिक प्रगति करिब ६६.५० प्रतिशत रहेको परियोजनाले जनाएको छ। जापान सरकारको सहकार्यमा चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीद्वारा निर्माण भइरहेको यो परियोजना लामो समयदेखि ढिलाइका कारण आलोचित हुँदै आएको थियो। तर पछिल्लो समय निर्माणले गति लिएको जनाइएको छ।

परियोजना समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीले जनशक्ति तथा स्रोत साधन थप परिचालन गरेको जनाएको छ।

११३.५३ किलोमिटर लामो यो सडक आयोजना सन् २०१९ मा सुरु भएको हो। प्रारम्भिक समयसीमा ३ वर्षको तोकिएको भए पनि अहिलेसम्म पाँचपटक म्याद थपिसकिएको छ। 


प्रकाशित : मंगलबार, जेठ ६ २०८२०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend