शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छ : कृषिमन्त्री अधिकारी

सोमबार, जेठ ५ २०८२
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छ : कृषिमन्त्री अधिकारी

चालु आवको अन्त्यसम्ममा अन्नबालीसम्बन्धी २२, बागवानीसम्बन्धी २३, पशुपालनसम्बन्धी १५, मत्स्यपालनसम्बन्धी १०, खाद्यसम्बन्धी दुई, कृषि यन्त्रीकरणसम्बन्धी तीन गरी जम्मा ७५ वटा कृषि प्रविधि सिफारिस गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत यसवर्ष ३५४ वटा परियोजनामा अनुसन्धानका काम भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले सोधेको लिखित प्रश्नको जवाफ दिँदै उनले बालीनालीतर्फ १०६, पशुपालनतर्फ ७७, बागवानीतर्फ ७०, बहु-क्षेत्रतर्फ ४१ र मत्स्यपालनतर्फ ३५ वटा परियोजनामा अनुसन्धान भइरहेको जानकारी गराएका हुन्।

यी अनुसन्धान परियोजनाबाट वैज्ञानिकले बालीनालीको जात तथा पशुवस्तुको नश्ल विकास, कृषि प्रविधि विकास, स्रोतसामग्री उत्पादन, स्रोत संरक्षण, प्रविधि हस्तान्तरण तथा सेवा प्रदान र सामाजिक-आर्थिक विश्लेषण तथा कृषि नीतिसम्बन्धी सुझाव प्रदान गर्नेजस्ता काम गर्दछन्।

चालु आर्थिक वर्षको अनुसन्धान बजेटको क्षेत्रगत प्राथमिकता बालीनाली ३०, पशुपालन २२, बहुक्षेत्र १७, बागवानी १५, मत्स्यपालन आठ र अन्यतर्फ सात प्रतिशत छ।

चालु आवमा सञ्चालित अनुसन्धान परियोजनाअन्तर्गत हालसम्ममा धानको एक, स्याउको तीन, जुनारको चार, ओखरको दुई, कागतीको एक, मेकाडेमीयानटको एक, सुन्तलाको दुई, आभोकाडोको तीन गरी जम्मा १७ जातको पञ्जीकरण प्रस्ताव पेस गरिएकोमा राष्ट्रिय बीउबिजन समितिले स्याउको तीन, सुन्तला जातको दुई र आभोकाडोको तीन गरी जम्मा आठवटा नयाँ जातको पञ्जीकरण गरिसकेको छ। चालु आवको अन्त्यसम्ममा थप आठ जातको पञ्जीकरणका लागि प्रस्ताव पेस गर्ने लक्ष्य रहेको पनि मन्त्री अधिकारीले बताए।

त्यसैगरी, चालु आवको अन्त्यसम्ममा अन्नबालीसम्बन्धी २२, बागवानीसम्बन्धी २३, पशुपालनसम्बन्धी १५, मत्स्यपालनसम्बन्धी १०, खाद्यसम्बन्धी दुई, कृषि यन्त्रीकरणसम्बन्धी तीन गरी जम्मा ७५ वटा कृषि प्रविधि सिफारिस गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ। चालु आवको अन्त्यसम्ममा विभिन्न बालीनालीको ९०० टन स्रोत बीउ (प्रजनन र मूल) उत्पादन गर्ने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा ३८० टन उत्पादन भइसकेको पनि उनले संसद्‌मा जानकारी गराए।

नार्कलाई अनुसन्धानका लागि करिब ९७ प्रतिशत नेपाल सरकारबाट र बाँकी तीन प्रतिशत दातृनिकाय तथा अन्तरराष्ट्रिय संघसंस्थाबाट वार्षिक रुपमा प्राप्त हुने गरेको छ।

नार्कअन्तर्गतका बागवानी सम्बन्धित अनुसन्धान केन्द्रले बिरुवा उत्पादन गरी सिधै किसानलाई उपलब्ध गराउने गरेको नभइ सिफारिस गरिएका उन्नत जातका तरकारी तथा फलफूलका स्रोत बीउ तथा बेर्ना उत्पादन गरी नर्सरी तथा स्रोत केन्द्रहरुलाई उपलब्ध गराउने गरिएको मन्त्री अधिकारीले जानकारी दिए। ती नर्सरी तथा स्रोत केन्द्रले बीज वृद्धि गरी किसानलाई उपलब्ध गराउँछन्।

चालु आवको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख स्रोत बेर्ना/बिरुवा नर्सरी तथा स्रोत केन्द्रलाई उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा १५ हजार ६९२ बेर्ना/बिरुवा बिक्री/वितरण गरिसकिएको पनि मन्त्री अधिकारीले बताए।

फलफूलको आयातका सम्बन्धमा मन्त्रालयले वार्षिक र भन्सार विभागबाट नियमित रुपमा तथ्यांक राख्ने गरेको उनले संसद्‌मा जानकारी गराए। कृषि अनुसन्धान परिषद्‌मा रहेका केही वैज्ञानिक अध्ययनका लागि बाहिर गएका छन्। करिब १०/१२ जना लामो समयदेखि नफर्किएको पनि मन्त्री अधिकारीले संसद्‌मा जानकारी गराए।

बैठकमा सांसद सुवालले फलफूल के, के र कति र कति उत्पादन भएको एवं कृषि वैज्ञानिकको सङ्ख्या कति छ ? भनी प्रश्न गरेका थिए। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend