शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सिमेन्ट ढलान सडकलाई प्राथमिकता दिन सिमेन्ट उत्पादक संघको आग्रह

‘कालोपत्रे होइन, सेतोपत्रे गरौँ’

सोमबार, जेठ ५ २०८२
सिमेन्ट ढलान सडकलाई प्राथमिकता दिन सिमेन्ट उत्पादक संघको आग्रह

अध्यक्ष मारूले छिमेकी मुलुक भारत, चीनलगायतका देशहरूले पहाडी क्षेत्रदेखि उच्चस्तरीय राजमार्गसम्म सिमेन्ट ढलान प्रविधि अपनाएको उदाहरण दिँदै नेपालमा पनि सो प्रविधिलाई नीति र बजेटमा स्पष्ट प्राथमिकता दिनुपर्ने बताए।

काठमाडौं- नेपालको जटिल भौगोलिक संरचनामा दीर्घकालीन रूपमा टिकाउ र किफायती पूर्वाधार निर्माणका लागि सिमेन्ट ढलान (सेतो पत्रे) प्रविधि उपयुक्त हुने भन्दै सिमेन्ट उत्पादक संघले यसप्रति सरकारी नीति र योजनामा प्राथमिकता दिन आग्रह गरेको छ।

संघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘सिमेन्ट कनक्रिट रोड कनक्लेभ’ कार्यक्रममा बोल्दै अध्यक्ष रघुनन्दन मारूले सिमेन्ट ढलान प्रविधिले टिकाउ, सस्तो, वातावरणमैत्री र स्वदेशी समाधान दिने भएकाले ‘अब कालोपत्रे होइन, सेतोपत्रे गरौँ’ भन्ने अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने बताए।

‘हाल प्रचलनमा रहेको अलकत्रा (बिटुमिन) प्रयोग गरिएको सडक प्रारम्भमा सस्तो देखिए पनि बर्सेनि मर्मत सम्भारमा ठूलो खर्च लाग्ने, चाँडै बिग्रिने र पानीको प्रभावले क्षति पुग्ने भएकाले दीर्घकालीन हिसाबले उपयुक्त छैन,’ अध्यक्ष मारूले भने, ‘सिमेन्ट ढलान बाटोको आयु कम्तीमा तीन गुणासम्म लामो हुने भएकाले यसले समग्रमा लागत घटाउँछ।’

उनका अनुसार सिमेन्ट ढलान सडकले ढल, पानी निकास वा अन्य पूर्वाधारको जडानमा सजिलो बनाउँछ, प्राविधिक हिसाबले बलियो हुन्छ र मौसमजन्य प्रभावको प्रतिरोधी क्षमता राख्दछ। त्यस्तै सिमेन्ट पूर्णरूपमा स्वदेशी उत्पादन भएकाले यसले आयात प्रतिस्थापनमात्र होइन, स्वदेशी उद्योग प्रवर्द्धन र रोजगारी सृजनामा समेत योगदान पुर्‍याउने उनको भनाइ छ।

कार्यक्रममा अध्यक्ष मारूले छिमेकी मुलुक भारत, चीनलगायतका देशहरूले पहाडी क्षेत्रदेखि उच्चस्तरीय राजमार्गसम्म सिमेन्ट ढलान प्रविधि अपनाएको उदाहरण दिँदै नेपालमा पनि सो प्रविधिलाई नीति र बजेटमा स्पष्ट प्राथमिकता दिनुपर्ने बताए।

‘स्थानीय तह तथा केही आयोजनाबाट यदाकदा सिमेन्ट ढलान सडक निर्माण भए पनि सरकारी प्रतिबद्धता नहुँदा यसको प्रयोग सीमित छ,’ उनले भने, ‘अब नीति निर्माण, बजेट विनियोजन र प्रविधि चयनमै दीर्घकालीन सोच अपनाउनु जरुरी भइसकेको छ।’

संघले सरकार, नीति निर्माता, निर्माण व्यवसायी तथा स्थानीय तहलाई सिमेन्ट ढलान प्रविधिको प्रवर्द्धन र व्यवहारिक कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरेको छ।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend