शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सूचना प्रविधि केन्द्रमा भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै सुनिल पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा

म्याक्स इन्टरनेशनल प्रालिका सीईओ अकवर हुसेन पनि मुख्य कसुरदार

सोमबार, जेठ ५ २०८२
सूचना प्रविधि केन्द्रमा भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै सुनिल पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा

टेक्निकल स्पेसिफिकेसन मिल्ने गरी विस्तृत रुपमा नै दरभाउपत्र पेश गरी मिलेमतो गरेको, खरिद कार्य आइटमवाइज खरिद हुने गरी लागत अनुमान नबनाइ एकमुष्ट दर विधिबाट गरेको खरिद परामर्श सेवाको खरिद हो भन्न नसकिएको अख्तियारले उल्लेख गरेको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै पौडेल र तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसहित ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्। 

पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। जसमा पौडेलसहित उनीहरूविरुद्ध अख्तियारले जनही ५ करोड ७९ लाख रुपैयाँ बिगो कायम गरेको छ। 

सार्वजनिक खरिद योजना तयार नगरी खरिद कार्य भएको, लागत अनुमानसँग स्वीकृत भएको टेक्निकल स्पेसिफिकेसन मिल्ने गरी विस्तृत रुपमा नै दरभाउपत्र पेश गरी मिलेमतो गरेको, खरिद कार्य आइटमवाइज खरिद हुने गरी लागत अनुमान नबनाइ एकमुष्ट दर विधिबाट गरेको खरिद परामर्श सेवाको खरिद हो भन्न नसकिएको अख्तियारले उल्लेख गरेको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद परामर्श कार्य टोलीको राय प्रतिवेदन अनुसार दरभाउ माग, लागत अनुमान तयारी तथा स्वीकृतिमा स्वार्थ बाझिने गरी मिलेमतो भएको, बोलपत्र तथा सम्झौताका सर्त अनुसार खरिद कार्य नभएको, ट्रेनिङ, इन्स्टलेसन एन्ड कन्फिगुरेसन तथा थ्री इयर्स वारेन्टी विथ अनसाइट सपोर्ट शीर्षकको भुक्तानी नियमसँग नभएको तथ्य देखिन आएको अख्तियारले उल्लेख गरेको छ। 


प्रकाशित : सोमबार, जेठ ५ २०८२१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend