शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ

सोमबार, जेठ ५ २०८२
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ

गण्डकी प्रदेश सरकारले २०७७ सालमा बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधार समेत निर्माण गरेको थियो। तर, त्यो प्रयोगविहीन भएको छ।

गलकोट- बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो। यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन्।

बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङलाई व्यवसायिकता दिने प्रयास गरिएको थियो। सफल परीक्षण भएपनि हालसम्म व्यावसायिक प्याराग्लाइडिङ हुन सकेका छैनन्।

गण्डकी प्रदेश सरकारले २०७७ सालमा बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधारसमेत निर्माण गरेको थियो। तर, त्यो प्रयोगविहीन भएको छ।

यहाँका बागलुङ नगरपालिका-६ भरिलाखुरी, बागलुङ नगरपालिका-१३ पहरेडाँडा, ढोरपाटन नगरपालिका-९ ढोरपाटन उपत्यका, गलकोट नगरपालिका-७ राम्चेढुंगालगायतका स्थानबाट विभिन्न समयमा परीक्षण उडान भइसकेका छन्। 

बलेवामा प्याराग्लाइडिङका लागि पोखराको सरांकोटको विकल्पमा बनाइएका पूर्वाधार पाँच वर्षदेखि प्रयोगविहीन छ। गण्डकी प्रदेश सरकारले २०७७ सालमा २० लाख रूपैयाँ खर्चेर बलेवाको पहरेडाँडामा विभिन्न संरचना बनाए पनि प्रयोगमा ल्याउन नसकिएको बागलुङ नगरपालिका-१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए।

'पाँच वर्षअघि बलेवामा प्याराग्लाइडिङ हुने भएपछि निकै उत्साहित थियौँ, २०७५ सालको बलेवा महोत्सवमा उडान भरेको स्थान उपयुक्त भएको प्यारापाइलटले जनाएपछि पहरेडाँडामा प्याराग्लाइडिङका लागि मैदान, विश्रामस्थल भवन र शौचालय तयार गरेपनि प्रयोगमा आएको छैन,' वडाध्यक्ष शर्माले भने, 'पूर्वाधार बन्यो, व्यावसायिक उडान हुन सकेन, अहिले पोखराको प्याराग्लाइडिङ व्यवसाय धरापमा परेपछि झनै आश मर्‍यो।'

प्रदेश सरकारले बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई प्याराग्लाइडिङको विकल्पका रूपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो।

साहसिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर भएपनि व्यावसायिकता पाउन सडक पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend