शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ट्र्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

सोमबार, जेठ ५ २०८२
ट्र्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीयको समस्या समाधान भएको छ।

बागलुङ- दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट-ताराखोला सडक कालोपत्र गरिएको छ। गलकोट नगरपालिका-३ हटिया बजारदेखि ताराखोला गाउँपालिका-१ को सिमानासम्म साढे ६ किलोमिटर सडक कालोपत्र गरिएको हो।

बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरी आयोजना सुरु भएको थियो। स्तरोन्नतिसहित कालोपत्र गर्नका लागि विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन। कोभिड-१९ र विभिन्न समस्या देखाएर निर्माण कम्पनीले लामो समय काम नगर्दा कालोपत्र गर्न सकिएको थिएन।

पूर्वाधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो। विसं २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने चार पटक म्याद थप गर्दा हालसम्म ८३ प्रतिशत काम भएका पूर्वधार विकास कार्यालय बागलुङका इञ्जीनीयर चन्द्र पुनले जानकारी दिए। चौथो पटक म्याद थप गरेको अवधि गत चैत मसान्तमा सकिएको भए पनि आगामी असोजसम्मका लागि थप गर्न निर्माण कम्पनीले निवेदन दिएको उनको भनाइ छ।

बहुवर्षे ठेक्का लगाएर काम सुरु गरे पनि पर्याप्त बजेट नहुँदा यसवर्ष पनि काम सकिने सम्भावना कम भएको इञ्जीनीयर पुन बताउँछन्। 'यो सडकको काम २०७८ सालमै सकिनुपर्ने हो तर विभिन्न कारणले गर्दा अहिलेसम्म सम्पन्न हुन सकेको छैन, पहिले निर्माण कम्पनीले ढिला सुस्ती गर्‍यो अहिले बजेट कम भयो, यसवर्ष त काम सकिन्छ, भन्ने थियो दुई करोड ५० लाख मात्रै बजेट पर्‍यो', उनले भने,'अहिलेसम्म साढे ६ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।'

इञ्जिनियर पुनका अनुसार अझै साढे तीन किमी सडक कालोपत्र गर्न बाँकी छ। उक्त सडक पनि ग्राभेल गरिसकेको हुँदा कालोपत्रका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ। अहिले हटिया बजारदेखि जङ्घरासम्म कालोपत्र भएको उनले जानकारी दिए।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक स्तरोन्नतिसँगै कालोपत्र भएपछि ताराखोला र गलकोट क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न तथा सामान ढुवानी गर्न सहज भएको बताए। दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीयको समस्यासमेत समाधान भएको उनको भनाइ छ।

उनले भने, 'गलकोट-ताराखोला सडकले दुई  पालिका मात्रै जोडेको छैन, यसले म्याग्दी जिल्लालाई पनि जोडेको छ, राष्ट्रिय गौरवको आयोजनालाई पनि जोडेको छ, अझ यहाँका दर्जनौँ गाउँलाई बजारसँग पनि जोडेको छ, पहिले साँघुरो कच्ची सडकमा यात्रा गर्ने नागरिक अब पक्की सडकमा हिँड्न पाउने भएका छन्।' रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend