बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सार्वजनिक जवाफदेहिताबाट उम्कन खोजिरहेका ठूला प्रविधि कम्पनी

सोमबार, जेठ ५ २०८२
सार्वजनिक जवाफदेहिताबाट उम्कन खोजिरहेका ठूला प्रविधि कम्पनी

काठमाडौं- एप्पल, गुगल र अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरू अहिले नियामकहरूको कडा निगरानीमा छन्। सार्वजनिक जवाफदेहिताबाट उम्कनका लागि जानकारी लुकाउने, प्रमाण नष्ट गर्ने र कानूनी विशेषाधिकारको दुरुपयोग गर्नेजस्ता अभ्यास गरिरहेको भन्दै यी कम्पनीमाथि निगरानी बढेको हो।

न्यायको प्रक्रियामा पारदर्शिता ल्याउन र जनताको विश्वास कायम राख्न ‘प्रविधिमा सर्वसत्तावाद’ हाबी हुन नदिने प्रयास भइरहेको जनाइएको छ।

अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) ले अमेजनविरुद्ध त कारबाहीको तयारीसमेत गरिरहेको छ। अमेजनले सयौँ महत्वपूर्ण कागजातहरू अनुसन्धानका क्रममा जानजान लुकाएको आरोप खेपिरहेको छ।

यस्तै एप्पलले पनि सयौँ दस्तावेजहरूलाई 'विशेषाधिकार' भनी वर्गीकृत गरेको थियो। तर पछि अदालतको पुनरावलोकनमा तीमध्ये आधाभन्दा बढी सामान्य प्रकृतिका फेला परे।

गुगलको हकमा त अझ गम्भीर मुद्दा उठेको छ। इपिक गेम्सद्वारा दायर मुद्दामा कम्पनीले गुगलले आन्तरिक च्याट सन्देशहरू नष्ट गरेको र प्रमाणहरू सुरक्षित नराखेको बताइएको छ।

गुगलले अनलाइन खोज बजारमा आफ्नो एकाधिकार कायम राख्न गैरकानूनी सम्झौताहरू गरेर प्रतिस्पर्धा रोकेको आरोप छ। यसमा डीओजेले सन् २०२० मा गुगलविरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा दायर गरेको हो। डिफल्ट सर्च इन्जिन बनाउने सम्झौता, प्रतिस्पर्धीहरूलाई रोक्नु र डाटा पहुँचको दुरुपयोगजस्ता आरोप गुगलमाथि छ।

एफटीसीका पूर्वउपनिर्देशक तथा कानूनका प्राध्यापक जोन न्युम्यानलाई उद्धृत गर्दै दि वाल स्ट्रिट जर्नलले लेखेको छ,  ‘कानूनी सल्लाहकारहरू नै यस्तो अनुचित अभ्यास प्रोत्साहित गरिरहेका छन्। यदि यिनीहरू अरू कुनै कम्पनी भए,  हामीले यसलाई ‘कानूनी अराजकता’ भन्थ्यौँ।'

विशेषगरी एप्पल, गुगल, अमेजनजस्ता कम्पनीहरूमा ठूलो तलबमा काम गरिरहेका वकिलहरू नै पनि ठूलो जोखिम नहुने अवस्थामा कानूनी र नैतिक सीमाहरू मिच्ने अभ्यास सजिलै भइरहेको बताउँछन्। यस्तोमा आर्थिकरुपमा सक्षम र पहुँचयुक्त विशेष शक्ति प्राप्त भएपछि जवाफदेहिताबाट उम्कन सहज हुने देखिएको छ।

प्रविधिको प्रयोगमा नयाँ-नयाँ खोजीहरू भइरहँदा एआई, डाटा सुरक्षाजस्‍ता विषयहरू प्राथमिकतामा छन्। तर यसमा काम गरिरहेका ठूला प्रविधि कम्पनीहरूले नै पारदर्शिता नदेखाउनुले सार्वजनिक हितमाथि खतरा बढाउँछ। यसैले प्रविधि नियमनको आवश्यकता केवल कानूनीमात्र नभइ लोकतान्त्रिक उत्तरदायित्वको सवाल पनि बनेको छ।

ठूला प्रविधि कम्पनीहरू आजको विश्वको शक्तिशाली संस्था बनेका छन्। तर सूचना लुकाउने, कानूनी प्रक्रिया उल्लंघन गर्ने र सार्वजनिक जवाफदेहिताबाट भाग्ने प्रवृत्तिले कम्पनीहरूको प्रतिष्ठामा आँच आइरहेको छ।

ठूला प्रविधि कम्पनीहरूको प्रमाण लुकाउने कामले नियामकहरू र प्रतिस्पर्धीहरूको गुनासोलाई थप बलियो बनाइदिएको छ। आलोचकहरूको भनाइ छ, ‘यी कम्पनीहरूले आफ्नो प्रभुत्व जोगाउन जानकारी लुकाउने रणनीति अपनाइरहेका छन्।'

एफटीसीले अमेजनविरुद्ध 'विशेषाधिकारको प्रणालीगत दुरुपयोग' को आरोपमा कारबाही माग गर्दै दर्ता गरेको कागजातमा उल्लेख गरिएको छ, ‘कम्पनीले प्रारम्भमा रोकेको ९२ प्रतिशत कागजात पछि फिर्ता लिएर करिब ७० हजार कागजात पेस गरेको हो।'

एप्पल, गुगल र अमेजनले कानूनी लडाइँमा आफूहरूले केही गलत काम नगरेको दाबी गरिरहेका छन्। तर एफटीसीको तर्फबाट उठाइएका आरोपले पनि यी कम्पनीमाथि शंका बढेको छ।

अब डिजिटल शक्ति कोसँग? गुगलविरुद्धको मुद्दाले ‘अनलाइन सर्च’लाई गरिरहेछ परिवर्तन अब डिजिटल शक्ति कोसँग? गुगलविरुद्धको मुद्दाले ‘अनलाइन सर्च’लाई गरिरहेछ परिवर्तन जुकरबर्ग गहन बनाउन खोज्दैछन् एआईसँगको मित्रता, मानव सम्बन्ध कमजोर हुने चिन्ता जुकरबर्ग गहन बनाउन खोज्दैछन् एआईसँगको मित्रता, मानव सम्बन्ध कमजोर हुने चिन्ता


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend