शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

जनकपुर भन्सारबाट चालु आवको हालसम्म ३४ करोड २८ लाख राजस्व संकलन

आइतबार, जेठ ४ २०८२
जनकपुर भन्सारबाट चालु आवको हालसम्म ३४ करोड २८ लाख राजस्व संकलन

कार्यालयका अनुसार चालु आवमा ५७ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो।

जनकपुरधाम- जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड २८ लाख ७८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार चालु आवमा ५७ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो।

चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव सात प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिए। उनका अनुसार गत आवको सोही अवधिको तुलनामा ५१ करोड ७४ लाख ९१ हजार रूपैयाँ राजस्व संकलन गरिएको थियो।

चालु आर्थिक वर्षको बैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट २८ करोड ६२ लाख ५९ हजार, भडरिया छोटी भन्सार नाकाबाट १८ लाख ३६ हजार, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार रूपैयाँ र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व संकलन भएको दासले जानकारी दिए।

कार्यालयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये दुईसय ९८ वटाको फैसला गरेको उनले बताए। पाँचसय ६५ लिलामीका मुद्दा परेकामध्ये दुईसय ९८ वटाको छिनोफानो गरी एक करोड ५६ लाख २० हजार रूपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य नौ करोड १५ लाख ५६ हजार रूपैयाँ रहेको थियो। सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कायालयको ११ मुद्दामध्ये नौ वटाको फैसला भएको छ।

सशस्त्र प्रहरीको चारसय १७ मध्ये दुईसय एक मुद्दाको फैसला भएको छ भने नेपाल प्रहरीको एकसय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ।

जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी, टायल्स, कोइला, कृषिउपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend