शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भुइँचालो डाँडामा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण, ‘थेरापी पार्क’ पनि बनाइँदै

आइतबार, जेठ ४ २०८२
भुइँचालो डाँडामा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण, ‘थेरापी पार्क’ पनि बनाइँदै

यस स्थानमा बिस्तारै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गरिने बताइएको छ।

काभ्रेपलाञ्चोक- बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ।

बनेपा-४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो। मूर्ति निर्माणका लागि ४० लाख रूपैयाँ खर्च भइसकेको छ।

पर्यटकलाई आकर्षित गर्न नगरकोटको फेदी क्षेत्रमा आर्थिक सहयोगमार्फत मूर्ति निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नमोबुद्ध नगर कमिटीका अध्यक्ष गणेश मोक्तानले बताए। उनका अनुसार उक्त मूर्तिमा बौद्ध धर्मअनुसार लामाले पूजा गरेर प्राण प्रतिष्ठान गरिएको छ।

नजिकै दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्तिसमेत निर्माण भइसकेकाले धार्मिक सहिष्णुता कायम गर्न पनि बुद्धको मूर्ति निर्माण गरिएको मोक्तानको भनाइ छ। केही वर्षअघि उक्त स्थानमा निर्मित दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्ति एसियाको पहिलो भएको मानिएको छ।

यस्तै, भुइँचालो डाँडालाई धार्मिक एवं पर्यटनको आकर्षक केन्द्र बनाउन ब्रह्माको मूर्ति नजिकै बुद्धको प्रतिमा निर्माण गरिएको स्थानीय बताउँछन्। बुद्धको मूर्ति भएको स्थानमा ‘थेरापी पार्क’ निर्माण प्रक्रिया पनि थालिएको मोक्तानले जानकारी दिए।

'पार्क निर्माणार्थ बागमती प्रदेश सरकारबाट एक करोड ६५ लाख रूपैयाँ बजेट प्राप्त भइसकेको छ, अब थेरापी पार्कको निर्माण थाल्नेछौँ', उनले भने। यस स्थानमा बिस्तारै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गरिने उनले उल्लेख गरे। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend