शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल निर्माण

आइतबार, जेठ ४ २०८२
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल निर्माण

जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको ५० लाख रूपैयाँ बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ।

म्याग्दी- नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ।

चालु आर्थिक वर्ष २०८१ /८२ मा संघीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन्।

गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए। एक करोड ५५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको साहाना-बीआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ। यो योजनाका लागि दुई करोड ७० लाख रूपैयाँ लागत अनुमान गरिएको थियो।

म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए।

जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको ५० लाख रूपैयाँ बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ। यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो। मसारमा दुईवटा घर भत्किएका थिए। फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन्। करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ।

यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए। प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको १० करोड रूपैयाँ बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एकसय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एकसय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend