शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु, दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

शुक्रबार, जेठ २ २०८२
जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु, दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
फाइल तस्बिर

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण सुरु भएको यस सडकले पर्यटन विकास र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ।

भक्तपुर- भक्तपुरको जगाती-डोलेश्वर-आशापुरी-काक्राबारी-साँगा झोलुङे पुल सडक निर्माण सुरु भएको छ।

बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित १६ करोड रूपैयाँ बजेटको लागतमा निर्माण हुने सडकको आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा शिलान्यास गरे।

सूर्यविनायक नगरपालिका- वडा नं. ८ र ९ को दुर्गम बस्तीलाई जोड्ने यो सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण सुरु भएको मन्त्री मास्केले बताए। उनले सडक निर्माणले यहाँको पर्यटन विकास र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

स्वास्थ्यमन्त्री थापाले सडक निर्माण पूरा भएमा यो क्षेत्र धार्मिक पर्यटकको मुख्य केन्द्र बन्ने बताए। उनले हाल जगातीबाट डोलेश्वर हुँदै आशापुरी जाँदा गाडी फर्केर नआएसम्म के भयो होला भनेर डराउनुपर्ने अवस्था रहेकाले सडक निर्माणपछि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर आउने धार्मिक पर्यटकलाई पौराणिक इतिहास बोकेको आशापुरी मन्दिर पुग्न सहज हुने बताए।

सहरी विकास मन्त्रालयबाट दुई करोड ५५ लाख रूपैयाँ विनियोजित बजेटबाट जगातीबाट गणेश स्कुल हुँदै डोलेश्वर जाने सडकको स्तरोन्नति सुरु भएको मन्त्री थापाले जानकारी दिए।

उनले भने, 'विसं २०६२ अगाडि यो क्षेत्रमा सडक पुगेको थिएन। त्यसबेलामा म तत्कालीन जिल्ला विकास समितिको सदस्य थिएँ, त्यहीँबाट बजेटको व्यवस्थापन गरेर सुरु गरेको सडक अहिले आठ मिटर चौडासहित कालोपत्र हुने भएपछि निकै खुसी छु।' रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend