शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सरकारको पुँजीगत खर्च दश महिनामा ३४ प्रतिशतमात्र, बजेट घाटा दुई खर्ब नाघ्यो

शुक्रबार, जेठ २ २०८२
सरकारको पुँजीगत खर्च दश महिनामा ३४ प्रतिशतमात्र, बजेट घाटा दुई खर्ब नाघ्यो

सरकारले हालसम्म वार्षिक विनियोजनको ३४ दशमलव १६ प्रतिशत अर्थात् एक खर्ब २० अर्ब ३७ करोड रूपैयाँ बराबरमात्रै खर्च गर्न सकेको कार्यालयले जनाएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिनामात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत बैशाख मसान्तसम्ममा करिब एक तिहाइ हाराहारीमात्रै पुँजीगत खर्च भएको देखिएको हो।

चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड रूपैयाँ बजेट छुट्याएको संघ सरकारले हालसम्म वार्षिक विनियोजनको ३४ दशमलव १६ प्रतिशत अर्थात् एक खर्ब २० अर्ब ३७ करोड रूपैयाँ बराबरमात्रै खर्च गर्न सकेको कार्यालयले जनाएको छ।

यस्तै, चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड रूपैयाँ विनियोजन भएकोमा वार्षिक लक्ष्यको ६७ दशमलव ७९ प्रतिशत अर्थात् सात खर्ब ७३ अर्ब २२ करोड रूपैयाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ७१ दशमलव ९६ प्रतिशत बराबर छ। यो शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड रूपैयाँ बराबर विनियोजन भएकामा बैशाख मसान्तसम्ममा दुई खर्ब ६४ अर्ब २८ करोड रूपैयाँ खर्च भएको छ।

यसरी चालु आर्थिक वर्षको उक्त अवधिसम्मको कुल बजेट खर्च ६२ दशमलव २४ प्रतिशत बराबर छ। यस वर्ष १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट ल्याइएकामा सुरुवाती दश महिनामा ११ खर्ब ५७ अर्ब ८९ करोड रूपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

खर्चको तुलनामा राजस्व संकलन निकै कम हुँदा यो अवधिमा बजेट घाटा दुई खर्ब रूपैयाँ नाघेको छ। बैशाख मसान्तसम्ममा सरकारले नौ खर्ब ४९ अर्ब ७६ करोड रूपैयाँ बराबरमात्रै राजस्व उठाएको छ, अर्थात् यो अवधिमा सरकारको आम्दानीभन्दा खर्च दुई खर्ब आठ अर्ब १३ करोड रूपैयाँले बढी छ। चालु आवका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। हालसम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ६४ दशमलव ५४ प्रतिशत बराबर हो।

यस्तै, चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड रूपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ३० दशमलव आठ प्रतिशत मात्रै लिइएको छ। बैशाख मसान्तसम्ममा १६ अर्ब ११ करोड ८९ लाख रूपैयाँ बराबर वैदेशिक अनुदान भित्रिएको हो।

कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड रूपैयाँको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ६४ दशमलव ५५ प्रतिशत अर्थात् आठ खर्ब २८ अर्ब ९४ करोड रूपैयाँ उठेको छ। यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड रूपैयाँ उठाउने वार्षिक लक्ष्य रहेकामा हालसम्म ६९ दशमलव दुई प्रतिशत अर्थात् ९३ अर्ब ४९ करोड रूपैयाँ बराबर गैरकर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend