शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

बिहीबार , जेठ १ २०८२
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्धारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो।

चितवन- भरतपुर महानगरपालिका-१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ। महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्धारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो।

आयोजनाको आज शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्धारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न लागिएको बताइन्। प्रमुख दाहालले पूर्व-पश्चिम राजमार्ग हुँदै आवतजावत गर्नेहरुका लागि पनि पार्क उपयोगी हुने बताइन्। उनले भनिन्, 'तीनै तहका सरकारको सामूहिक लगानीमा नमूना पार्क बनाइने छ।'

उपप्रमुख चित्रसेन अधिकारीले वन तथा वन्यजन्तु संरक्षणमा महानगरपालिका लागि परेको जनाउँदै यसबाट नगरवासीले फाइदा लिन सक्नुपर्ने बताए। उनले भने, 'हामीले वन र वन्यजन्तु संरक्षण गर्दै यसबाट फाइदा लिन सक्नुपर्छ।'

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, रामवेल सामुदायिक वनका अध्यक्ष माधव धिताल, पूर्वअध्यक्ष बेलबहादुर थापालगायतले बोलेका थिए।

वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले दुई करोड २३ लाख आठ हजार रूपैयाँ बजेटमा पार्क एवं खुल्ला चिडियाखाना बनाउन लागिएको बताए। सो क्षेत्रमा संग्रहालय, पाँचवटा पोखरी, वन्यजन्तु उद्धार केन्द्र, गोलघर, फुट ट्रेललगायतका संरचना बन्ने बताए। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend