मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

भन्सार नाकामा कडाइ गरी तस्करी नियन्त्रण गर्न उद्योगी व्यवसायीको माग

images
बिहीबार , जेठ १ २०८२
images
images
भन्सार नाकामा कडाइ गरी तस्करी नियन्त्रण गर्न उद्योगी व्यवसायीको माग

सुरक्षा निकायले एक महिनाभित्रमा प्रभावकारी काम नगरे गृह मन्त्रालयले थप एक्सन अगाडि बढाउने गृहमन्त्री रमेश लेखकले बताए।

images
images

इटहरी- मोरङ उद्योग व्यापार संघको सभाहलमा मंगलबार गृहमन्त्री रमेश लेखक उपस्थित भए। लेखकलाई पर्खिरहेका उद्योगीहरू केही आशा र केही आक्रोशका साथ प्रस्तुत भए। उद्योगीहरूले पुनः त्यही कुरा दोहोर्‍याए जुन यसअघि नै अर्थमन्त्रीलाई ज्ञापनपत्रमार्फत भनिसकेका थिए।

images
images
images

नेपाल उद्योग परिसंघ कोशी प्रदेश र मोरङ उद्योग व्यापार संघले आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले तस्करी नियन्त्रणको लागि बारम्बार बिन्ती गरे। चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमको समीक्षामा कांग्रेस महामन्त्री गगन थापालाई बोलाएर सोही हलमा उद्योगीले गुनासो सुनाएका थिए।

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बारम्बार उद्योगीले खुल्ला सिमानाको कारण तस्करी बढेको बताउँदै रोकिदिन आग्रह गरे। औपचारिक र अनौपचारिक रूपमा व्यावसायीहरु तस्करी नियन्त्रणको लागि खबरदारी गरिरहेका छन्।

images
images
images

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सबै भन्सार नाकामा कडाइ गर्नुपर्ने उनीहरुको एकमात्र माग छ। नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले नेपालको बजार सुनसान हुँदा छिमेकी भारतीय बजार गुल्जार भएको बताए। विराटनगर लगायत आसपासका बजारमा ग्राहक नभएको बेला जोगवनी पानीट्यांकीलगायत बजारमा अर्बौँको कारोबार भइरहेको गुनासो गरे।

मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनुपम राठीले यसअघि पनि सरकारलाई बारम्बार सजग गराउँदा समेत सुनुवाइ नभएको आक्रोश व्यक्त गरे। करका दरमा समेत परिवर्तन गर्न माग गरेका उनले अत्यावश्यक वस्तुमा भन्सार दर घटाउन र विलासी वस्तुमा दर बढाउन आग्रह गरे।

तस्करीको कारण नेपाल सरकारले प्रत्येक महिना २५ करोड रुपैयाँ राजस्व गुमाइरहेको स्मरण गराउँदै राठीले निजी क्षेत्रसँग मिलेर धेरै काम सहजताका साथ गर्न सकिने सुनाए। तस्करी नियन्त्रण भएको अवस्थामा नेपाल सरकारलाई दोहोरो नाफा हुने र आर्थिक क्षेत्र अगाडि बढ्ने उनको विश्वास छ।

गृहमन्त्रीसँगको भेटमा जोगबनी बजारमा भएको व्यापारिक गतिविधिको भिडियो देखाएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले निजी क्षेत्रलाई टेवा पुग्नेगरी बजेट नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे। विराटनगरका उद्योगीलाई सीमा क्षेत्रको बजार अभिशाप भएको बताएका उनले तस्करी नियन्त्रणमा चनाखो हुनुपर्ने बताए।

उद्योगीको गुनासो सुनेका गृहमन्त्रीले बुधबारदेखि सुरु भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उत्तर दिए। सीमा क्षेत्रमा तस्करी अत्यन्तै बढेको बताउँदै एक महिनाभित्र पूर्णरुपमा नियन्त्रणमा लिन निर्देशन दिए। सुरक्षा निकायले एक महिनाभित्रमा प्रभावकारी काम नगरे गृह मन्त्रालयले थप एक्सन अगाडि बढाउने उनको भनाइ थियो। तस्करीको कारण अपराध बढ्दै गएको बताउँदै उनले राजस्वमा कमी आउने र उद्योगी व्यवसायी समस्यामा पर्ने गरेको बताए।

कोशी प्रदेश भ्रमणको क्रममा गृहमन्त्री लेखकले विराटनगर भन्सार कार्यालयको आपत्कालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरे। विराटनगर भन्सार कार्यालय परिसरमा गृह मन्त्रालयले विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रादेशिक आपतकालीन गोदाम घर निर्माण गरेको हो।

देशमा आपतविपद् परेको बेला प्रदेश सरकारले आवश्यक सामग्रीको लागि संघीय सरकार गुहार्ने परिपाटीको अन्त्यका लागि आपतकालीन गोदाम घर प्रभावकारी हुने विश्वास लिइएको छ।


प्रकाशित : बिहीबार , जेठ १ २०८२११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend