शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

करोडौँ रकम खर्चेर बनाइएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

बिहीबार , जेठ १ २०८२
करोडौँ रकम खर्चेर बनाइएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

अन्नपूर्ण गाउँपालिकाले दोबामा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माण गरेको दुई वर्ष बितिसक्दा पनि प्रयोगविहीन छ।

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-१, दोबामा पाँच करोड रूपैयाँभन्दा बढी रकम खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन छ। 

संघीय सरकारको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोबामा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माण गरेको दुई वर्ष बितिसक्दा पनि प्रयोगविहीन भएको हो।

आठवटा वडा रहेको अन्नपूर्णका सबै वडाका बासिन्दालाई पायक नहुनु, जनशक्ति र उपकरणको अभाव तथा भवन रहेको ठाउँसम्म पुग्ने सडकको जीर्ण अवस्थाका कारण भवन प्रयोग र अस्पताल सञ्चालन हुन नसकेको अन्नपूर्ण-१ का वडाध्यक्ष दिलीप गर्बुजाले बताए।

'सरकारी मापदण्डअनुसार अस्पतालका लागि आवश्यक पर्ने जग्गा अन्य वडामा नपाएपछि दोबामा अस्पताल बनाउने निर्णय भएको हो', उनले भने, 'भवन प्रयोगमा ल्याउन सबैभन्दा पहिले बेनी-जोमसोम सडकको भिरकाटेदेखि दोबासम्मको सडक स्तरोन्नतिका लागि संघीय र प्रदेश सरकारसँग पहल गरेका छौँ।'

भवनमा आकस्मिक सेवा कक्ष, अन्तरङ्ग, बहिरङ्ग सेवा, प्रयोगशाला, औषधी भण्डार, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको छ। भवन निर्माणका लागि पाँच करोड १२ लाख ६० हजार रूपैयाँमा सम्झौता भएको थियो।

अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र भवन घेराबार गर्न धेरै रकम गर्नुपर्ने भएको छ। दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराएका थिए। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend