शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

युट्युब हेरेर व्यवसाय सुरु गरेकी बसन्तीले बनाइन् स्वरोजगारको बाटो

बिहीबार , जेठ १ २०८२
युट्युब हेरेर व्यवसाय सुरु गरेकी बसन्तीले बनाइन् स्वरोजगारको बाटो

पुनर्वास नगरपालिका–३ की बसन्ती चन्द अब आफ्नो घरखर्चको लागि अरूसँग हात थाप्नुपर्दैन। कोरोना महामारीपछि बेरोजगार बनेकी उनी अहिले केक, पेष्टी र बदाम सेक बनाउने व्यवसायबाट महिनामा ३० हजार रुपैयाँ नाफा कमाइरहेकी छन्।

कञ्चनपुर- पुनर्वास नगरपालिका–३ की बसन्ती चन्द अब आफ्नो घरखर्चको लागि अरूसँग हात थाप्नुपर्दैन। कोरोना महामारीपछि बेरोजगार बनेकी उनी अहिले केक, पेष्टी र बदाम सेक बनाउने व्यवसायबाट महिनामा ३० हजार रुपैयाँ नाफा कमाइरहेकी छन्।

शिक्षिका भएर गाउँकै विद्यालयमा पढाउँदै आएकी चन्दले महामारीका दिनमा जागिर छाड्नुपर्‍यो। तर खाली बस्ने मन थिएन, केही गर्ने जोस थियो। त्यही बेला स्थानीय सृजनशील बचत तथा ऋण सहकारी संस्था खुलेपछि उनी त्यसमा आबद्ध भइन्। ऋण लिन त मन थियो तर के गर्ने भन्नेमा अन्योल थियो।

इन्टरनेट र युट्युबले यहाँ बाटो देखायो। विभिन्न व्यक्तिले व्यवसाय कसरी थाले, कसरी विस्तार गरे भन्ने भिडियो हेर्दै जाँदा उनलाई केक, पेष्टी र बदाम सेक बनाउने काम सरल लाग्यो। युट्युबकै भरमा उनले सिक्न थालिन्- बिस्तारै घरमै व्यवसाय सुरु गरिन्।

सुरुमा एक लाख रुपैयाँको लगानीबाट सुरु भएको यो व्यवसाय अहिले पाँच लाख रुपैयाँसम्मको बनिसकेको छ। राम्रो स्वाद, सन्तोषजनक सेवा र ग्राहकको रुचिअनुसार उत्पादनले गर्दा अहिले जन्मदिन, विवाह, संस्थागत कार्यक्रमका लागि नियमित अर्डर आउने गरेको छ।

व्यवसायको विस्तारसँगै उनले गिफ्ट आइटमको कारोबार पनि सुरु गरेकी छन्। सहकारीमा मासिक आठ हजार रुपैयाँसम्म बचत गर्ने स्थिति बनेको छ। पसलको आम्दानीले घर खर्च चल्नुका साथै छोरीको पढाइसमेत सहजै धान्न सकिएको उनले बताइन्।

घरभित्रैबाट युट्युब हेरेर सुरु गरिएको सीपमूलक व्यवसायबाट आज उनी स्थानीय तहमा स्वरोजगारको एउटा प्रेरणादायी नमूना बनेकी छन्। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२०६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend