शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

लगानी बोर्डको ६२औँ बैठक बस्दै, मुक्तिनाथ केबलकारदेखि पश्चिम सेतीसम्मका ठूला परियोजनाहरू एजेन्डामा

बुधबार, वैशाख ३१ २०८२
लगानी बोर्डको ६२औँ बैठक बस्दै, मुक्तिनाथ केबलकारदेखि पश्चिम सेतीसम्मका ठूला परियोजनाहरू एजेन्डामा

बैठकमा लगानी स्वीकृतिको निर्णयका लागि मुक्तिनाथ केबलकार परियोजना मुख्य एजेन्डाका रूपमा प्रस्तुत हुँदैछ।

काठमाडौं- लगानी बोर्ड नेपाल (आईबीएन) को ६२औँ बैठक आज बस्दैछ। बैठकमा ‘मुक्तिनाथ केबलकार’ जस्ता ठूला पूर्वाधार आयोजनादेखि ‘पश्चिम सेती’ जलविद्युत् परियोजनासम्मका विषयहरू छलफलका लागि प्रस्तुत गरिँदैछन्।

बोर्डका प्रवक्ता तथा सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायले बैठकका प्रमुख एजेन्डाहरूको जानकारी दिँदै एक दर्जनभन्दा बढी विषय बैठकमा छलफलका लागि पेस हुने बताए।

उपाध्यायका अनुसार बैठकमा लगानी स्वीकृतिको निर्णयका लागि मुक्तिनाथ केबलकार परियोजना मुख्य एजेन्डाका रूपमा प्रस्तुत हुँदैछ। ५७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा ११ अर्ब ५१ करोड रुपैयाँ स्वपुँजी र ४५ अर्ब ७३ करोड रुपैयाँ ऋण रहनेछ। यस परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को विषयसहित, लगानी स्वीकृति, वार्ता समिति गठन र परियोजना विकास सम्झौता प्रक्रिया अगाडि बढाइने उनले बताए।

बैठकमा लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् परियोजनाको डीपीआर प्रगति विवरण तथा माथिल्लो कर्णाली परियोजनाको हालको अवस्थासम्बन्धी जानकारी समेत प्रस्तुत गरिनेछ।

त्यस्तै, बझाङ सेती जलविद्युत् परियोजनाको लगानी स्वीकृति, सेती नदी-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति म्याद १ वर्ष थप गर्ने प्रस्ताव पनि एजेन्डामा छन्।

प्रवक्ता उपाध्यायका अनुसार आजको बैठकमा ४४ मेगावाट क्षमताको बाकान खोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति प्रस्ताव पनि प्रस्तुत गरिँदैछ। यस आयोजनाको कुल लागत ७ अर्ब ५१ करोड रुपैयाँ रहेको र त्यसमा २५ प्रतिशत स्वपुँजी रहने तथा विदेशी लगानी पनि संलग्न हुने उनले जानकारी दिए।

त्यस्तै, आईसीटी पार्कसम्बन्धी अवधारणा प्रस्ताव, सौर्य ऊर्जा परियोजना, खाद्य तेल प्रशोधन उद्योग, र रासायनिक मल कारखानासम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनको जानकारी पनि बैठकमा राखिनेछ।

'कतिपय आयोजनाको प्रारम्भिक प्रस्तावमाथि जानकारीमूलक छलफल हुनेछ भने कतिपयको लगानी स्वीकृतिका लागि निर्णय गरिने तयारी छ,' प्रवक्ता उपाध्यायले भने।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend